मायादेवी अनलाइन, चार नम्बर ।
सिमामा अलपत्र परेका आफ्ना नागरिक खोज्न कपिलवस्तुको बाणगंगा नगरपालिका तातेको छ । कपिलवस्तुका सिमामा सयौँ नेपालीहरु अलपत्र अवस्थामा रहेको अवस्थामा आफ्ना नागरिकको खोजी गर्न नगरपालिका तातेको हो । त्यसैअनुरुप नगरले सोमबार (आज) बिभिन्न स्थानका ११ जनालाई उद्धार गरी सिद्धार्थ क्याम्पसमा बनेको क्वारेनटाइनमा ल्याएको छ । आज कृष्णनगर सिमा क्षेत्रबाट ९ जना र तौलिहवाबाट २ जना गरी ११ जनालाई सुरक्षित तवरले ल्याइएको नगर प्रवक्ता विष्णु पौडेलले मायादेवी रेडियोलाई बताउनुभयो ।
अलपत्र परेका बाणगंगाका वासिन्दाको उद्धारको लागि नगरले ५ सदस्यीय कार्यदल नै गठन गरेको छ । जसको लागि नगर प्रवक्ता विष्णु पौडेलको संयोजकत्वमा ५ सदस्सीय टोली समेत गठन भएको छ । यस्तै समितिमा वडा नं ५ का अध्यक्ष भिष्मराज भुषाल , वडा नं ४ का कअध्यक्ष गणेश क्षेत्री , वडा नं ११ का अध्यक्ष सोमनाथ अर्याल र स्वास्थ्यकर्मी भक्तिराम पन्थि रहनु भएको छ । सो समितिले वाहिरबाट आउने अलपत्र नागरिकलाई तुरुन्त क्वारेन्टाइनमा ल्याउन सहयोग गने छ ।
सिमामा बाणगंगाका अरु पनि नागरिक रहेको हुन सक्ने भन्दै भोलिका दिनमा पनि यो अभियान जारी राखिने कार्यदल संयोजक पौडेलले मायादेवी रेडियोलाई बताउनु भयो । नेपाल भारत सिमामा सयौँ नेपाली अलपत्र अवस्थामा रहेपछि उनीहरुको उद्धार गर्न भन्दै सरकारमाथि चौतर्फी दबाब छ । सिमामा एक हप्तादेखि नागरिकहरु भोक न तीर्खामा छन् । यस्तो अवस्थामा आफ्ना नागरिकको खोजी गर्नु नगरको दायित्व भएको पौडेलले बताउनु भयो ।
यता सयौ नागरिकलाई राज्यले ब्यवस्थापन गर्न नसकेपछि जिल्लाका स्थानीय तहहरु स्वयम् लागेका हुन् । विजयनगर गाउँपालिकाले हिजो आफ्ना नागरिकलाई खोजीखोजी सुरक्षित तवरले क्वारेनटाइमा ल्याएको थियो । त्यसपछि बाणगंगाले पनि आजबाट यो अभियान सुरु गरेको हो । साथै नगरले सबै नागरिकलाई लक डाउनको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ । यस्तै नगरले क्वारेनटाइनमा बस्नेको संख्या थपिँदै गएकाले क्वारेन्टाइनको क्षमतालाई पनि वृद्धि गरेको छ । अहिले केही बेड बढाइएको र छिटै १ सय वेड बनाउन लागेको छ ।पुर्याइने नगर उपप्रमुख चक्र अर्यालले जानकारी दिनुभयो । उता शिवराज नगरपालिकाले पनि रुपन्देही लगायतका स्थानबाट आफ्ना नागरिकको उद्धार गरिसकेको छ । जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या १५ पुगेको छ । त्यसमा १ जना पनि बाणगंगा नगरपालिकाका परेका छैनन् ।
प्रतिक्रिया