मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले तीन दिन नगर सिल गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो बसेको नगर कार्यापालिका बैठक र नगरभित्रका सरोकारवालासंगको छलफल पछि नगरपालिका तीन दिन सिल हुने भएको हो । कपिलवस्तुमा कोरोना भाइरसको जोखिम उच्च भएको र त्यसको मारमा बाणगंगा पनि पर्न सक्ने भन्दै यस्तो निर्णय गरिएको नगर उपप्रमुख चक्र अर्यालले बताउनु भयो ।
सोमबार मध्यरातीबाट नगर सिल हुने अर्यालले जानकारी दिनुभयो । कपिलवस्तुमा कोरोनाको उच्च जोखिम बढीरहेकाले नगरमा थप जोखिम नहोस भन्नका लागि नगर सिल गरिएको उप प्रमुख अर्यालले बताउनुभयो । जेष्ठ १ गतेसम्मका लागि नगर सिल हुने उहाँको भनाई छ । नगरलाई तिन दिन शिल गर्ने निर्णयमा कपिलवस्तु उद्योग बाणिज्य संघले पनि ऐक्यवद्धता जनाएको छ ।
यो निर्णयसंगै आज मध्यराति १२ बजेदेखि जेठ १ गतेसम्म औषधीबाहेकका कुनै पनि सेवा संचालन हुन पाउने छैनन् भने नगरमा अब बाहिरी आवागमन पनि ठप्प हुने जनाइएको छ । कोही पनि नगर प्रवेश गर्न पाउने छैनन् र कोही पनि बाहिर जान पाउने छैनन् ।
विरामी बोकेका एम्बुलेन्स भने निर्वाध रुपमा चल्न पाउने छन् । यस्तै बैङक, वित्तिय संस्था, बिमा कम्पनी, उद्योगधन्दा, कलकारखाना, सहकारी सबै पूर्ण रुपमा बन्द हुने छन् ।
नगरलाई शिल गर्ने निर्णयबारे सरोकारवालासंग समेत आज छलफल भएको थियो । छलफलमा सहभागी बिभिन्न बैङक तथा वित्तिय संस्थाका प्रतिनिधि र अन्य सरोकारवालाले कोरोनाबाट नगरलाई जोगाउन गरिएको निर्णयमाथि सहमति जनाएका छन् ।
यसअघि दूध, तरकारी, फलफुल ग्याँस, किराना आदिका अत्यावश्यकीय पसल संचालन भएको भए पनि अब जेठ १ गतेसम्म यी सबै ठप्प हुने उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।
साथै नगरले कोरोनाबाट बच्नको लागि बाहिरबाट आएका ब्यक्तिको सम्पर्कबाट जोगिन अनुरोध गरेको छ भने भारत लगायतका देशबाट कोही आएको थाहा पाएमा तुरुन्त सरोकारवालालाई जानकारी गराउन या नगरपालिकाको सिद्धार्थ क्याम्पसस्थित क्वारेनटाइनमा पठाउन नगरपालिका र उद्योग संघले अनुरोध गरेको छ । यसको लागि नगरका बिभिन्न स्थानमा सुरक्षाकर्मी पनि बाक्लो संख्यामा खटाइने छ ।
यसअघि लकडाउनमा बिनापासका मोटरसाइकल, साना गाडी पनि चलेको, मानिसहरु मर्निङवाक गरिरहेको, निर्माण काम पनि चलिरहेको हुनाले यी सबै काम तुरुन्त बन्द गर्न पनि नगर र उद्योग संघले आग्रह गरेका छन् ।
जेठ १ गतेसम्म नगरको निर्णय अटेर गरी कोही कसैले गरेको पाइए कडा कारबाही गर्ने चेतावनी पनि दिइएको छ । कपिलवस्तुमा अहिलेसम्म १५ जना संक्रमित भेटिए पनि बाणगंगा नगरका कोही पनि संक्रमित छैनन् । साथै नगरले भारतबाट लुकीछिपी आएकाहरुमाथि पनि कडा ढंगबाट निगरानी बढाएको छ ।
प्रतिक्रिया