मायादेवी अनलाइन, चारनम्बर ।
भारतबाट दुई दिनमा ४ सय २५ जना लुकेर कपिलवस्तु छिरेको पाइएको छ । नेपाल सरकारले कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै भारत तथा तेस्रो मुलुकबाट आउने जो कोहीलाई पनि देशभित्र प्रवेश गर्न दिएको छैन् । तर, विभिन्न रोजगारीको शिलशिलामा भारत गएकाहरु धमाधम नेपाल भित्रिरहेका छन् । सिमा नाकामा सुरक्षाकर्मी तैनाथ पारे पनि खुल्ला सिमा नाकाको कारण धमाधम नेपाल भित्रने बढीरहेका छन् । पछिल्लो दुई दिनको बीचमा ४ सय २५ जना कपिलवस्तु भित्रिएको खुलासा भएको छ ।
जिल्लाका १० स्थानीय तहले बनाएका क्वारेनटाइमा बस्नेको संख्याका आधारमा यो कुरा प्रमाणित भएको हो । शनिबार जिल्लाका १० पालिकामा क्वारेनटाइनमा ९ सय ९४ रहेका थिए । यो संख्या बढेर आइतबार १ हजार ३ सय ७९ पुगेको छ ।
लुकेर जिल्ला आउनेलाई धमाधम गाउँलेले क्वारेनटाइनमा राख्ने गरेका छन् । बैशाख पहिलो साता क्वारेनटाइनमा बस्नेहरुको संख्या एक सयको हाराहारीमा थियो । तर, अहिले द्रुत गतिमा संख्या बढीरहेको छ ।
लुकेर जिल्ला आएकाहरुलाई आएको थाहा भएसम्म क्वारेनटाइनमा राखिएको भएपनि घरमा लुकेर बस्नेको संख्या अझै बढी हुने अनुमान छ । जिल्लाका स्थानीय तहहरुले लुकेर घरमा आउनेहरुको निगरानी बढाएका छन् । बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले भारतबाट लुकेर आउनेहरुलाई निगरानी बढाइएको बताउनुभयो । सम्बन्धित वडाका वडाध्यक्ष, टोल विकास संस्था र गाउँलेहरुलाई कोही नयाँ व्यक्ति आयो भने खबर गर्न र सम्भव भए क्वारेनटाइनमा अनिवार्य राख्न आग्रह गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
आइतबार साँझ जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार यशोधरा गाउँपालिकामा सबैभन्दा बढी ३ सय ८५ जना क्वारेनटाइनमा रहेका छन् । मायादेवी गाउँपालिकामा २ सय २४, बुद्धभूमि नगरपालिकाका १ सय ७४, विजयनगर गाउँपालिकामा १ सय ६३, शुद्धोधन गाउँपालिकामा १ सय २६ रहेका छन् ।
यसैगरी महाराजगञ्ज नगरपालिकामा ८७, शिवराज नगरपालिकामा ५७, कृष्णनगर नगरपालिकामा २८ जना रहेका छन् भने वाणगंगा नगरपालिकामा १७ जना रहेको प्रशासनले जनाएको छ । यद्यपि यो संख्या भन्दा धेरै क्वारेनटाइनमा रहेको र प्रशासनमा अध्यावधिक नगराईको कतिय बताउँदै आएका छन् । वाणगंगा नगरपालिकाका नगर प्रवक्ता विष्णु पौडेलले आइतबार साँझ २२ जना क्वारेनटाइनमा रहेको बताउनुभएको थियो भने प्रशासनको रिपोर्टमा १७ जना रहेको छ । यसरी तथ्याङ्क अलि बढी भएको अनुमान छ ।
सोमबार पनि क्वारेनटाइनमा बस्नेहरुको संख्या बृद्धि हुने अनुमान छ । कपिलवस्तुस्थित दशगजामा १९ सयको हारहारीमा अलपत्र परेका र १८ सय भन्दा बढी जिल्लाका मात्र रहेकाले संख्या बढ्ने अनुमान गरिएको हो । केन्द्र सरकारले नेपाल प्रवेशको वातावरण नमिलाए पछि नागरिकहरु धमाधम चोर नाका हुँदै जिल्ला प्रवेश गरिरहेका छन् ।
जिल्लामा सोमबार मात्र थप १० जनामा कोरोना संक्रमण देखिएको छ । जसमा यशोधरा गाउँपालिकाका ८ जना र बुद्धभूमि नगरपालिकाका २ जना रहेका छन् । यस भन्दा अगाडि जिल्लामा ५ जना कोरोना संक्रमित फेला परेका थिए ।
प्रतिक्रिया