१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोना संक्रमित प्रदेश ५ मा सबैभन्दा बढी, कपिलवस्तु चौथो स्थानमा



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा सोमबार १० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या १ सय २० पुगेको छ । निको भएर घर फर्किनेको संख्या ३३ रहेको छ । बाँकीको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ का २० र ३४ वर्षका दुई–दुई तथा १८, १९, २४, ३०, ३१ बर्षका र उमेर नखुलेका एकजना गरी १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार आज सङ्क्रमण पुष्टि भएका सबैजना क्वारेन्टीनमै छन् र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । यो सँगै नेपालमा १ सय २० जनामा कोरोना पुष्टि भएको छ ।

अहिलेसम्म सङ्क्रमण हुनेमा महिला भन्दा पुरुष धेरै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १० जनासमेत ८८ जना पुरुष र ३२ जना महिलामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै सबैभन्दा धेरै प्रदेश ५ मा कारोनाको सङ्क्रमण देखिएको छ । यहाँ अहिलेसम्म ४० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, प्रदेश १ मा ३५, प्रदेश दुईमा ३१ जना, वाग्मती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा दुई, र सुदूरपश्चिम प्रदेशमा पाँच जनालाई कोरोनाको सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ५६ हजार ६ सय ५७ जनाको आरडीटी र १६ हजार ८ सय ९८ जनाको पीसीआर गरी ७३ हजार ५ सय ५५ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

जिल्लागत स्थिति हेर्दा कपिलवस्तु कोरोना संक्रमण हुने जिल्लाको चौथो स्थानमा छ । पहिलो स्थानमा रहेको उदयपुरमा ३२, पर्सा २५ र बाँकेमा १४ जना संक्रमित छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७ सोमबार ००:००  ११ : ३७ बजे