मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा सोमबार पुनः १० जना कोरोना संक्रमित भेटिएका छन् । भारतीय सिमावर्ती यशोधरा गाउँपालिका वडा नं. ५ बदौली गाउँका ८ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै बुद्धभूमि नगरपालिकाको वडा नं. १० धनकौली र वडा नं. ७ मानपुरका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विहान निकालेको रिपोर्ट अनुसार जिल्लामा १० जना नयाँ संक्रमित भेटिएका हुन् ।
संक्रमित व्यक्तिको बारेमा विस्तृत बुज्नका लागि स्वास्थ्यकर्मीको एक विशेष टोली सम्बन्धित क्षेत्र जान लागेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार संक्रमित सबै क्वारेनटाइनमा रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
शनिबार मात्र जिल्लामा २ सय ९० जनाको स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो । तीन पालिकाको क्वारेन्टाइनमा रहेका उनीहरुको स्वाब संकलन गरी पिसीआर टेस्टका लागि काठमाडौंस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको हो । जसमा बुद्धभूमि नगरपालिकाबाट १ सय २५, कपिलवस्तु नगरपालिकाबाट १ सय ३ र यशोधरा गाउँपालिकाबाट ६२ जनाको स्वाब संकलन गरिएको थियो । यी मध्येको रिपोर्टबाट सोमबार विहान १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि जिल्लामा १ सय ६३ जनाको मात्र स्वाब संकलन भएको थियो । त्यस मध्ये ५ जना संक्रमित भेटिएका छन् । यिनीहरु मध्ये मायादेवी गाउँपालिकाका ४ र शुद्धोधन गाउँपालिकाका एक जना रहेका थिए । यी दुई गाउँपालिका जोडिएका क्षेत्र हुन् ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको बिशेष पहलमा काठमाडौंबाट पिसीआर टेस्टको स्वाब संकलनका लागि आवश्यक ६ सय थान भिटिएम शुक्रबार साँझ मात्र जिल्लामा ल्याइएको थियो ।
आइतवार विजयनगर गाउँपालिकाबाट ५० जनाको स्वाव संलकन गरि काठमाडौं पठाइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । सोमबार पनि स्वाव संकलनको काम जारी राख्ने प्रशासनले जनाएको छ ।
प्रतिक्रिया