मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना भाइरसका कारण कपिलवस्तुका एक व्यक्तिको संयुक्त अरब इमिरेट्स (यूएई)मा निधन भएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ८ लौगाई निवासी चुरामणी ढकालको यूएईमा निधन भएको हो ।
करिब एक महिना अघि ढकाललाई कारोनाको लक्षण देखिए पछि अस्पताल भर्ना गरिएको थियो । तर, उपचारको क्रममा उनको निधन भएको वडा नं. ८ का वडाध्यक्ष गुणनिधि भुसालले जानकारी दिनुभयो ।
यूएईमा रहेको बुर्जेल हस्पिटलमा उनको शनिबार निधन भएको वडाध्यक्ष भुसालले बताउनुभयो । उनका एक छोरा र एक छोरी छन् । जसमा छोरा अपाङ्ग रहेको उहाँले बताउनुभयो ।
आजभन्दा करिब एक बर्ष अगाडि यूएईको क्याफे डु रोल एण्ड रेष्टुरेन्टमा काम गर्न गएका ढकालको शवलाई उतै दाहसंस्कार गर्ने गरी समन्वय भैरहेको उहाँले बताउनुभयो ।
पारिवारीक स्थिति कमजोर भएको कारण उनको शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे समन्वय भैरहेको पनि उहाँले बताउनुभयो । कोरोना संक्रमितबाट निधन भएकाहरुको शवलाई ल्याउन समस्या भएकाले उनको उतै दाहसंस्कार हुने उहाँको भनाई छ ।
प्रतिक्रिया