काठमाडौँ । संसदमा आजदेखि पूर्व बजेटमाथिको छलफल सुरु हुने भएको छ । सकेसम्म आजभोलिभित्रमा पूर्व बजेटमाथिको छलफल सक्ने र जेठ २ गते नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ ।सरकार बजेट निर्माणको अन्तिम तयारीमा जुटिरहँदा विज्ञहरुले भने स्थानीय र प्रदेश सरकारलाई पनि हेरेर बजेट ल्याउन सरकारलाइ सुझाव दिएका छन् ।
सीआईएनसँग कुराकानी गर्दै वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले कोभिड १९ कारण यस पटकको बजेट अन्य वर्षको तुलनामा अलग्गै खालको बनाउनुपर्ने भएकाले स्थानीय तहको उत्पादन र आवश्यकतालाई पनि मध्यनजर गर्न सुझाव दिनुभयो । हिजो बसेको संसद बैठकमा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेटको सिद्धान्त तथा प्राथमिकताका क्षेत्र सार्वजनिक गर्नुभएको थियो ।
अर्थमन्त्री खतिवडाले सार्वजनिक गरेको प्राथामिकताको क्षेत्रका आधारमा अब सांसहरुले थप सुझाव दिनेछन् । नोबेल कोरोना भाइरसको महामारी र त्यसबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै आउँदो आर्थिक बर्षको बजेट तयार पारिने र दिगो तथा सन्तुलित विकासमा ध्यान दिने गरि प्राथामिकता क्षेत्र निर्धारण गरिएको अर्थमन्त्री खतिवडाले बताउनुभएको छ ।
मुलुकभित्र उत्पन्न हुने बेरोजगारी समस्या र विदेशमा रोजगारी गुमाएर फर्कने युवालाई रोजगारीमा समावेश गराउन कृषि, साना घरेलु र सेवा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम आउने उहाँको भनाइ छ । जेठ १५ गते भित्रमा बजेट सार्वजनिक गरिसक्नुपर्ने संबैधानिक बाध्यताका कारण कोभिड १९ को जोखिमको बीचमा पनि संसद बैठक बसिररहेको छ ।
प्रतिक्रिया