९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

यसपटक वैशाखमा पनि चिसो किन ?



अम्बरिश पोख्रेल/भगवती कुँवर पोख्रेल
१ । चीनको वुहान सहरमा गत मंसिरमा सुरु नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले पुस अन्त्यतिर महामारीको रूप लिन थाल्यो । त्यसपछि चीन सरकारले छिटोभन्दा छिटो विभिन्न सहर लकडाउन (बन्दाबन्दी) गर्दै भाइरसको फैलावट नियन्त्रणमा लिन सकेको देखिन्छ । लकडाउन भनेको व्यवस्थापनका लागि उपयोग गर्ने समय हो । लकडाउनका कारण चीनका सहमार दैनिक गुड्ने करोडौं सवारी साधन ठप्प भए । ती सवारी साधन तथा दसौं हजार कलकारखानाबाट निस्किने प्रदूषण स्वतःशून्य अवस्थामा झरेको छ । अर्थात् वातावरणले आफ्नो पुरानो स्वरूप ग्रहण गर्न पाएको छ । त्यसले गर्दा यतिबेला त्यहाँ चिसो हावाको चाप सक्रिय हुन पुगेको छ ।

२। मानव जाति आफैँले सिर्जना गरेको प्रदूषण लकडाउनमार्फत यसरी विश्वका अन्य थुप्रै देशमा पनि न्यून वा शून्य अवस्थामा झरेको छ। प्रदूषणको सुरुवात लगभग सन् १८५० मा भएको मानिएको छ । यो मितिलाई आधार मान्दा वातावरणलाई दुई प्रकारले हेर्न र बुझ्न सकिन्छ । अर्थात् यो मिति अघिको प्राकृतिक वातावरणमा मानव जातिको हस्तक्षेप कम थियो भने पछिल्लो अवस्थामा वातावरणमा मानिसको हस्तक्षेप बढ्दै गयो, फलस्वरूप अप्राकृतिक वस्तुको उत्सर्जन हुन थाल्यो ।

३। विश्व मानव जातिले गरेको अप्राकृतिक वस्तुको उत्सर्जन तथा प्राकृतिक दोहनले गर्दा वातावरणको आफ्नो ऐतिहासिक पहिचानमा फेरबदल भइरहेको छ । यही कुरा विचार गरेर नै विभिन्न देशले विभिन्न प्रकारका वातावरणीय मापदण्ड निर्धारण गरेका छन् । जसअन्तर्गत मानिस कानुनी र व्यावहारिक रूपले आफूलाई समयानुकूल बनाउन बाध्य भएका छन् । सन् १८५० पछि पनि पुनःविभिन्न चक्रीय स्वरूप देखापरे, विशेष गरी एसिया तथा पूर्वी एसियाका देशमा । सन् १९८० को दसकपछि पनि विभिन्न चक्र देखा परे । यसको सामान्य अर्थ के हो भने वातावरणमा समय अनुसार हावाको उच्चर न्यूनचापीय केन्द्रबिन्दु फेरबदल भइरहेको छ। दक्षिण एसियाका थुप्रै क्षेत्र (देश) मा समेत त्यो प्रकारको फेरबदल भइरहेको छ । न्यून र उच्चचाप केन्द्रमा आइरहेको फेरबदल नै मौसम परिवर्तन हो । हाल वैशाख महिनामा पनि धेरै चिसो हुनु यसैको परिणाम हो । यो क्रम वर्षौंवर्षसम्म रहेको अवस्थामा मात्र त्यो वातावरणीय अर्थात् हावापानीको परिवर्तन हुन जान्छ ।

एकैपटक एकै प्रकारको अंकुश प्रदूषणबाट वातावरण स्वतन्त्र हुन पाएका कारण यसपालि वैशाखमा विगतका वर्षको तुलनामा दैनिक मौसममा नयाँ प्रकारको फेरबदल भइरहेको छ ।
४। हामीले सरसर्ती पुनरवलोकन गर्दा गतवर्ष (सन् २०१९) अप्रिलका ३०, २९ र २८ तारिखमा नेपालको पश्चिमतिरबाट तातो हावा प्रवेश गरी काठमाडौंसम्म आइपुगेको पाइयो । त्यो प्रकारको हावा भारत हुँदै पाकिस्तानको मरुभूमि क्षेत्रमा समेत पुग्छ । हामीले गरेको परीक्षणबाट पनि काठमाडौंको सतहदेखि १००, २०० र ५०० मिटर उचाइमा पाँच दिने हावाको बहाव ९२६,२७,२८,२९ र ३०० को दिशा तथा प्रस्थान केन्द्रसमेत एउटै रहेको देख्न सकिन्छ । यो प्रकारको बहाव स्थानीय नभएर अन्तरदेशीय तथा क्षेत्रीय आयतनमा देखापरेको छ, जुन कुरा हामीले वर्षौंदेखि सुनेका हौं र त्यसको नतिजासमेत अनुभव गरेका छौं ।

५। हामीले पुनः यो वर्ष सन् २०२०० अप्रिलका ३०, २९ र २८ तारिखको मौसम अध्ययन गरेर हेर्दा गतवर्षको भन्दा लगभग १८० डिग्री को फरक दिशा तथा केन्द्रबाट हावाको बहाव काठमाडौँ प्रवेश गरेको पाइयो । यो हावामा विशेषगरी हाम्रो देशको हिमाल तथा पहाडको स्वच्छ हावाको प्रधानता देखिन्छ । चिनियाँ भूमिको हावा नेपालतिर आएजस्तो देखिएता पनि त्यो पूर्ण सत्य होइन । यहाँ बिर्सन नहुने कुरा के छ भने यो प्रकारको हावाको बहाव पुनः प्रदूषण सुरु भएको अवस्थामा परिवर्तन हुने हो वा होइन, अझै केही हप्ता हेर्नुपर्ने हुन्छ । अहिलेको अवस्थामा परिवर्तन भएन भने त्यो स्वतःमौसमबाट हावापानी परिवर्तनमा परिणत हुने छ । यसका पछाडिका आयामको विस्तृत अध्ययन तथा परीक्षण अहिले हामीले गर्नुपर्ने आवश्यकता महसुस गरेनौं । कारण केही हप्तापछि स्वतःथाहा हुनेछ ।

६। विशेषगरी चिनियाँ तथा भारतीय सहरमा डिजेल, पेट्रोल तथा इन्धनबाट चल्ने गाडीदेखि लिएर कारखानाबाट उत्पादित प्रदूषणसम्म कम हुन गइरहेको अवस्थामा नेपालमा पनि लकडाउनका कारण थोरै मात्रामा भएपनि प्रदूषण घटेको छ । एकैपटक एकै प्रकारको अंकुश (प्रदूषण) बाट वातावरण स्वतन्त्र हुन पाएका कारण यसपालि वैशाखमा विगतका वर्षको तुलनामा दैनिक मौसममा नयाँ प्रकारको फेरबदल भइरहेको छ । सवारी साधन तथा कारखानाको प्रदूषणले विशेषतःहावाको बहाव नियन्त्रण गरिरहेको हुन्छ । अहिले त्यो बहावमा कुनै प्रकारको अन्तरदेशीय हावाको दबाब नपरेको हुँदा हामी नेपालीले आफ्नै भूमिको मौलिक मौसम वा चिसोपन अनुभव गर्न पाएका हौं ।

७। यो प्रकारको फेरबदल थोरै मात्राको कारक तत्वले सम्भव हुँदैन । अहिलेको अवस्था ठूलो मात्राको कारक तत्वले भइरहेको हो । यसपछाडि आफ्नै मापदण्ड छन् । एउटै लेखमार्फत ती सबै कुरा व्याख्या गर्न सकिन्न । यसरी अहिले भइरहेको मौसमी अवस्था अन्तरदेशीय प्रभाव (दबाब होइन), तर नेपालकै मौलिक बहाव हो ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाको हाल प्रकाशित एउटा रिपोर्टले त झन् यो कुरालाई अझ बलशाली बनाएको देखिन्छ। स्मरणीय छ, सानो मात्रामा सम्भव हुने अवस्था झन् धेरै थिए र छन् । तर त्यही अनुसार अर्को प्रकारको मौसमको प्रतिनिधित्व गर्छ । त्यसैले नौलो प्रकारको मौसम वैशाख महिनामा पनि प्रत्यक्ष अनुभव हामी आफैँ गरिरहेका छौं । यसपछाडिको विस्तृत विज्ञान पछि अझै पढौंला, जान्दै गरौंला ।
डा. पोख्रेल र डा. कुँवर ठमेलस्थित वातावरण विभाग, अमृत साइन्स क्याम्पसमा प्राध्यापनरत हुनहुन्छ ।
नागरिकबाट साभार गरेका हौँ ।

प्रकाशित मिति : २९ बैशाख २०७७ सोमबार ००:००  ७ : ३६ बजे