चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा क्वारेनटाइनमा बस्नेको संख्यामा एक्कासी वृद्धि भएको छ । वडा नम्बर १ स्थित सिद्धार्थ क्याम्पसमा बनेको क्वारेनटाइनमा बस्नेको संख्या शनिबार रातिसम्म १६ जना पुगेको छ ।
शुक्रबारसम्म ८ जना क्वारेनटाइनमा रहेकोमा शनिबार एकैदिन ८ जना थपिएका छन् । जुन दोब्बर संख्या हो । अढाई बर्षीय बालिका, ५ जना महिला र १० जना पुरुष अहिले क्वारेनटाइनमा रहेको बाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
वडा नम्बर २ पिपरा घर भई मधुवनमा माइतीघर वस्न गएका परिवारलाई नै क्वारेनटाइनमा राखिएको छ । जसमा २ जना पुरुष, अढाई बर्षकी बालिका र बालिकाकी आमा रहेका छन् । बालिका स्वस्थ भए पनि आमा भने विरामी र सामान्य अपाङ्गताको अवस्थामा रहेको पौडेलले बताउनु भयो ।
उनीहरु भारतको लुदिहनाबाट २ दिन अघि वडा नम्बर २ मा रहेको पिपरास्थित घरमा आएका थिए । एक रात पिपरा बसका उनीहरु लगत्तै माइतीघर वडा नम्बर ८ मधुवनमा गएका थिए । त्यसपछि उनीहरु ४ जनासहित माइतीपट्टिका थप ३ जनालाई क्वारेनटाइनमा ल्याइएको थियो । सबै १४ दिन क्वारेनटाइनमा बस्ने छन् भने स्वास्थ्य जाँचपछिको रिपोर्टको आधारमा डिस्चार्ज गरिने जनाइएको छ । क्वारेनटाइनमा बस्नेमध्ये धेरै वडा नम्बर ८ बाट मात्र ८ जना रहेका छन् । जसमा १ जना पुरानो ब्यक्ति रहेका छन् ।
यस्तै वडा नम्बर ४ बाट तिन, ११ बाट दुई, नम्बर ६ र १० बाट एकएक जना क्वारेनटाइनमा रहेका पौडेलले जानकारी दिनु भयो । बिभिन्न वडाबाट अरु ब्यक्ति पनि सम्पर्कमा आएकाले क्वारेनटाइनमा बस्नेको संख्या आइतबारसम्म थपिने पौडेलको भनाई छ ।
कपिलवस्तुमा अहिलेसम्म ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती सबै मायादेवी गाउँपालिकाको क्वारेनटाइनमा बसेका रहेका छन् । त्यसअनुसार बाणगंगामा पनि कोरोना जोखिम बढ्न सक्ने भन्दै नगरले भारतबाट लुकीछिपी आएकामाथि निगरानी बढाएको छ ।
यसरी लुकीछिपी आउनेलाई अनिवार्य क्वारेनटाइनमा राख्नु पर्ने भएकाले प्रत्येक वडालाई यसमा चनाखो बन्न नगरले अनुरोध गरेको छ । सिद्धार्थ क्याम्पसमा बनेको क्वारेनटाइन सुविधा सम्पन्न भएको भन्दै कुनै चिन्ता नलिन परिवारलाई अनुरोध गरिएको नगरप्रमुख मंगल प्रसाद थारुले मायादेवी अनलाइनलाई बताउनु भयो । सुरक्षा, वाइफाई, खानपान, ओढ्ने, ओछ्याउने सबैको राम्रो प्रबन्ध भएकाले क्वारेनटाइनमा बस्नेलाई कुनै समस्या नभएको थारुको भनाई छ ।
प्रतिक्रिया