मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा ५ जना कोरोना संक्रमति भेटिएपछि पिसीआरका लागि धमाधम स्वाब संकलन थालिएको छ । यसैक्रममा कपिलवस्तुबाट थप २ सय ९० जनाको स्वाब संकलन गरी काठमाडौं पठाइएको छ । तीन पालिकाको क्वारेन्टाइनमा रहेको उनीहरुको स्वाब संकलन गरी पिसीआर टेस्टका लागि काठमाडौंस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको हो ।
भारतको मुम्बई दिल्ली हरियाना लगायतका बिभिन्न शहरबाट फर्की क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलन गरी शनिबारै काठमाडौ पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताउनुभयो ।
बुद्धभूमि नगरपालिकाबाट १ सय २५, कपिलवस्तु नगरपालिकाबाट १ सय ३ र यशोधरा गाउँपालिकाबाट ६२ जनाको स्वाब संकलन गरिएको हो । यसअघि जिल्लामा १ सय ६३ जनाको स्वाब संकलन गरिएको थियो । त्यस मध्ये ५ जना संक्रमित भेटिएका छन् । प्रजिअ दीर्घनारायण पौडेलको बिशेष पहलमा काठमाडौबाट पिसीआर टेस्टको स्वाब संकलनका लागि आवश्यक ६ सय थान भिटिएम शुक्रबार साँझ जिल्लामा ल्याइएको थियो ।
आइतबार पनि स्वाब संकलन गरिने बताएको छ । जिल्लामा अहिलेसम्म १ हजार १ सय १० जनाको र्यापिड टेस्ट भएको छ । जसमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । र्यापिड टेस्टको किट समेत सकिएकाले टेस्टको काम रोकिएको भगतले बताउनुभयो । ३ हजार ६ सय किट माग गरिए पनि प्रदेशबाट १ हजार १ सय ८० थान मात्र पठाएको उहाँले बताउनुभयो ।
दश पालिकाले तयार गरेको एक हजार ३ सय ६२ क्वारेन्टाइन बेडमा हाल ८ सय ८१ जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनुभयो ।
प्रतिक्रिया