मायादेवी अनलाइन, चारनम्बर ।
बाणगंगा नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) को महामारीको त्राससंगै डेंगी रोगको पनि जोखिम रहेको छ । गर्मी मौसममा तराईका अधिकांश जिल्लाहरुमा डेँगी रोगको जोखिम रहने गर्दछ । कपिलवस्तु जिल्ला पनि तराईका जिल्लाहरुमध्ये डेँगीको संक्रमण उच्च हुने जिल्ला हो । त्यसै अनुसार बाणगंगा नगरमा पनि यो रोगको उच्च जोखिम छ । विगतको सूचकमा पनि बाणगंगा नगरपालिका डेँगीको जोखिम रहेको नगरपालिका हो । त्यस हिसाबले यहाँ कोरोनाको जोखिम बढेको स्वास्थ्यकर्मी बताउँछन् ।
कोरोना महामारीको कारण नगरमा अहिले डेँगीविरुद्धको सचेतना अभियान संचालन हुन सकेको छैन । गत बर्ष यतिखेर यसविरुद्धको सचेतना अभियान सुरु हुने गर्दथ्यो । नगरका उप–प्रमुख चक्र अर्यालले कोरोनाको कारण यसको रोकथाम र नियन्त्रणमा स्थानीय सरकार लागि परेकाले यसबारे अहिले केही सोच्न नभ्याइएको मायादेवी अनलाइनसंग बताउनुभयो । उहाँले एक दुई दिनमै डेँगी रोगबारे पनि ठोस योजना बन्ने बताउनुभएको छ ।
लगत्तै स्वास्थ्य शाखासंग वैठक बसी यसको सचेतना र रोकथाम सम्बन्धि ठोस योजना बन्ने उहाँको भनाई छ । कोरोनाको अवस्था हेरेर नगरका ११ वटै वडामा स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरुलाई डेंगी रोगको महामारीका विरुद्ध खटाइन सक्ने पनि नगरले जनाएको छ ।
डेँगीबाट बच्नको लागि जोखिमयुक्त स्थानहरुमा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्न भन्दै ‘खोज तथा नष्ट गर’ कार्यक्रम सञ्चालन हुने गर्दछ । कोरोना समाप्तिपछि नगरले यो अभियान संचालन गर्ने स्वास्थ्य शाखा प्रमुख पौडेलले मायादेवी अनलाइनसंग बताउनु भयो । यस खालका लामखुट्टेको बासस्थान रहेका क्षेत्रको पहिचानका लागि स्वास्थ्य क्षेत्रका प्राविधिकलाई खटाइने बताइएको छ । एडिज एजेप्टाई नामक पोथी लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्दछ ।
अहिले केही दिन यता लगातार पानी परिरहेको छ । कोरोना महामारीको रोकथामका लागि झण्डै दुई महिनादेखि बन्दाबन्दी (लकडाउन) छ । यो बेलामा ग्यारेजलगायतका क्षेत्र बन्द हुँदा धेरै ठाउँमा पानी जम्ने अवस्था छ । त्यसखालका लामखुट्टेका लागि अहिले अण्डा पार्न उपयुक्त समय देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । यहीँ बेलामा खोज र नष्ट गर अभियान सञ्चालन गर्दा प्रभावकारी हुनसक्छ ।
एउटा लामखुट्टेको जीवनकाल सालाखाला ३० दिनको हुने गर्छ । एउटा लामखुट्टेले आफ्नो जीवनभर करिब पाँच सयदेखि एक हजारसम्म अण्डा पाने गर्दछ ।
३–१० दिनसम्ममा यसको संक्रमण देखिन सक्छ । १०२ र १०३ डिग्रीसम्मको ज्वरो आउनु, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाका गेडी दुख्ने, जिऊ र जोर्नी दुख्ने, राताराता बिमीरा आउने हुन्छ ।
सामान्यता ज्वरो आएको तीन देखि पाँच दिनसम्ममा डेंगी ज्वरो देखिने गर्दछ । समयमै उपचार नपाएमा मानिसको मृत्यु हुन सक्छ । त्यसैले यस्ता लक्षणदेखिएमा तुरुन्त चिकित्सकको सल्लाहा लिन पनि नगरले सबैलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया