मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको सिमावर्ती दशगजामा अलपत्र नेपालीको संख्या १३ सय नजिक रहेको छ । बुधबार देखि दशगजामा नेपाली अलपत्र पर्न थालेका हुन् । अहिले त्यो संख्या बढेर १३ सय नजिक पुगेको हो ।
जिल्लाका विभिन्न सिमा नाकामा नेपालीहरु अलपत्र छन् । भारतमा कोरोनाको संक्रमण तीव्र हुनु र लकडाउनको समय थपिनुले हजारौं नेपालीहरु स्वदेश आएका हुन् । तर, आफ्नो देश आउँन नपाउँदा उनीहरुको बाँस दशगजामा हुन पुगेको छ ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले दशगजामा साढे १२ सय भन्दा धेरै नागरिक रहेको बताउनुभयो । मायादेवी अनलाइनसंग शनिबार साँझ संक्षिप्त कुराकानीको क्रममा उहाँले यो जानकारी दिनुभएको हो ।
केन्द्र सरकारबाट कुनै निर्णय नभएको कारण दशगजामा रहेका नागरिकलाई तत्काल नेपाल प्रवेश गराउँन सकिने स्थिति नभएको पनि उहाँले प्रष्ट पार्नुभएको छ ।
नेपाल भारत बीच भएको सहमती अनुसार दुवै देशमा रहेका नागरिकलाई संरक्षण गर्ने भनिएको थियो ।तर, यो सहमतीलाई भारतले तोडेको छ । यसले गर्दा नेपालीलाई धमाधम नेपाल फर्काउने अभियानमा भारत लागेको छ । त्यसले गर्दा नेपालीहरु दशगजासम्म आएका हुन् ।
भारतमा लाखौं नेपाली रोजिरोटीको लागि गएका छन् । विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतमा आफ्नै नागरिकलाई सम्हाल्न गाह्रो भैरहेको बेला नेपालीलाई संरक्षण गर्ने कुरा आफैमा असम्भव रहेको कतिपय बताउँछन् । केन्द्र सरकारले भारतसंग कुरा भएकाले भारतमै बस्न आग्रह गरिरहदा नेपालीहरु गाँस र बाँसको समस्याका कारण बाध्य भएर नेपाल आएका हुन् । तर, नेपाल सरकारले नेपाल आउँन नदिएपछि सयौं नागरिक दशगजामै अलपत्र परेका छन् ।
दशगजामा रोकेपनि अधिकांश लुकिछिपि नेपाल आउँदा कपिलवस्तुमा कोरोनाको संक्रमण भयावह हुने स्थिती छ । विहीबार र शनिबार गरी भेटिएका ५ कोरोना संक्रमित पनि हालै लुकेर घर आएको खुल्न आएको छ ।
प्रतिक्रिया