काठमाडौं ।
नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको विरोध गर्दै पत्रकार सम्मेलन गरिरहेका नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय धुम्बाराही सामुन्ने शंकपार्कमा लिपुलेकमा भारतीय अतिक्रमणबारे पत्रकार सम्मेलन गरिरहेका बेला प्रहरीले दुवैलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ । आफूहरु पक्राउ परेको जानकारी बस्न्यातले पत्रकारहरुलाई दिएका छन् । ’नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको विरोधमा पत्रकार सम्मेलन गरिरहेका थियौँ’, उनले भनेका छन्, ’तर तत्कालै आएका प्रहरीले भारतको विरोध नगर्नू भन्दै पक्राउ गरेर महाराजगञ्जमा राखिएको छ ।’
यसअघि प्रहरीले दरबारमार्ग उत्तर ढोका र माइतीघरबाट पनि विद्यार्थीहरुलाई पक्राउ गरेको थियो। उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन गरिरहेका थिए ।
प्रतिक्रिया