९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कोरोनासँगै डेंगुको पनि उस्तै खतरा, बुटवल उपमहानगरले चलायो अभियान



रुपन्देही ।
बुटवलमा कोरोना भाइरस (कोभिड–१९) को महामारीसँगै अब डेंगु रोगविरुद्ध पनि अभियान सुरु भएको छ । बुटवल उपमहानगरपालिकाले नगरका १९ वटै वडाहरुमा स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरुलाई डेंगु रोगको महामारीविरुद्ध सावधानी र पूर्वतयारीमा केन्द्रित हुन निर्देशन दिएको छ ।

कोराना महामारीसंगै डेंगुको महामारीको जोखिमसमेत बढेको भन्दै समुदायस्तरमा सुरक्षित तरिकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको हो । महामारीका बेलामा टोलटोलमा गरिएका राहत वितरण र सचेतनाका अभियानमा खटिएकाहरुलाई नै अब डेंगुबारे पनि सचेत गराउने बताइएको छ ।

उपमहानगरले स्थानीय विपद् व्यवस्थापन समिति र त्यसमातहत समुदायस्तरका संयन्त्रलाई महामारीबाट जोगिने उपाय अबलम्बन गर्दै डेंगुविरुद्ध अभियानमा सामेल गराउने तयारी भएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

महामारीका बेलामा विशेष काम गरिरहेको स्थानीय विपद् व्यवस्थापन समिति र त्यसमातहतको क्रायसिस म्यानेजमेन्ट सेन्टर (सिएमसी) ले समेत यो अभियानमा पैरवी गर्ने छ । महामारीका असर, प्रभाव र त्यसबाट जोगिने उपायबारे सचेतनाका काम भइरहेकाले अब त्यसैमार्फत डेंगुविरुद्ध पनि विशेष अभियान चलाउन सकिने छ ।

लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न ‘खोज तथा नष्ट गर’ कार्यक्रम सञ्चालन गरिने छ । यसखालका लामखुट्टेको बासस्थान रहेका क्षेत्रको पहिचानका लागि स्वास्थ्य क्षेत्रका प्राविधिकलाई खटाउने र त्यसैका आधारमा अभियान चलाइने प्रमुख सुवेदीले बताए ।

डेंगु रोग नियन्त्रण र रोकथामका लागि समुदायस्तरमा सचेतना जगाउन विभिन्न संयन्त्रलाई परिचालन गरिने बताउँदै प्रमुख सुवेदीले महिला स्वास्थ्य स्वयमसेविका, टोलविकास संस्था, राजनीतिक दल, नागरिक अगुवा तथा आमसञ्चारकर्मीको सहकार्यमा नै अभियान प्रभावकारी बनाइने बताए । केही दिनयता लगातार पानी परिरहेको छ ।

महामारीको रोकथामका लागि झण्डै दुई महिनादेखि लकडाउन छ । यो बेलामा ग्यारेजलगायत क्षेत्र बन्द हुँदा धेरै ठाउँमा पानी जम्ने अवस्था छ । त्यसखालका लामखुट्टेका लागि अहिले अण्डा पार्न उपयुक्त समय देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । यही बेलामा अभियान सञ्चालन गर्दा प्रभावकारी हुन सक्ने उनी बताउँछन् ।

अभियान सञ्चालनको तयारी भइरहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए । उपमहानगरका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंह नेतृत्वको स्वस्थ्यकर्मी तथा प्राविधिकको टोलीलाई निर्देशन दिइएको शर्माले बताए । सिंह नेतृत्वको टोलीले सरोकारवालासँगको सहकार्यमा प्राविधिक परिचालन गर्नेछ । र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्यचौकीलाई तम्तयारीमा राख्ने छ ।

हालको महामारी रोकथामका लागि यहाँका स्वास्थ्य संस्थामा फिवर क्लिनिक सञ्चालन गरिएको छ भने दीर्घरोगीलाई घरघरमै औषधि पु¥याउनुका साथै स्वास्थ्यकर्मीलाई हटलाइन सेवामा खटाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७ शनिबार ००:००  ५ : ५४ बजे