काठमाडौं ।
भारत सरकारले नेपाली भूमि लिपुलेक मानसरोबर यात्रा गर्ने सडक खनेपछि त्यसको विरोधमा प्रदर्शन भएको छ ।
शनिवार माइतीघर मण्डलामा लकडाउनको उल्लंघन गर्दै भेला भएका युवाहरुले भारतीय कदमको विरोध गर्दै नेपाल सरकारलाई खबरदारी गरे ।
उनीहरु ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासमेत माग गरेका थिए ।
उनीहरुले ओली सरकार राजीनामा दे, हाम्रो भूमि प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका थिए ।
प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै उक्त सडक बनाएको विरोधमा सत्तारुढ दल सम्बध्ध केही युवाले भारतीय दूतावास अघि प्रदर्शन गरेका थिए ।
भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका ३३ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । विद्यार्थी राष्ट्रिय झण्डासहित प्लेकार्ड बोकेर सो दूतावास अगाडि प्रदर्शन गर्न पुगेका थिए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट विद्यार्थीले यसरी प्रदर्शन गरेका जनाइएको छ । सोही क्रममा विद्यार्थी नेता सुदेश पराजुली, यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईंलगायत ३३ जना पक्राउ परेका हुन् ।
नेपालको भूगोलमा रहेको लिपुलेक, कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको उद्घाटन गरेको समाचार भारतका सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटमार्फत सार्वजनिक गरेका छन् ।
प्रतिक्रिया