९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

नेपाली भूमिभित्र कुनै गतिविधि नगरियोसः नेपाल सरकार



काठमाडौं ।
नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक खनेर चीनको सीमासम्म पुर्‍याएको विषयमा सरकारले आधिकारिक धारणा जनाएको छ ।

परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत भारतले नेपाली भूमि हुँदै सडक खनेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सन् १८१६ को सुगौली सन्धि अनुसार काली पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालमै पर्ने दाबी गर्दै सरकारले यो विषयमा नेपालले कुटनीतिक नोट पठाउँदा पठाउँदै पनि भारतले सडक बनाउनु दुःखद भएको जनाएको छ ।

सीमामा रहेका विषयमा दुई देशबीच छलफल हुनुपर्ने र ऐतिहासिक सन्धि, कागजात र नक्साको आधारमा सीमा विवाद समाधान गर्नुपर्ने विषयलाई भारतले एकलौटी रुपमा प्रयोग गर्न नपाउने भन्दै सरकारले भारतको पछिल्लो कदम तत्काल फिर्ता गर्न माग गरेको छ ।

सन २०१५ मा भारत र चीनले नेपालको भूमि हुँदै सडक पुर्‍याउन गरेको सहमतिमा पनि नेपालले त्यतिखेरै असहमति जनाएको भन्दै परराष्ट्र मन्त्रालयले एकपक्षीय रुपमा सिमानामा भएका गतिविधिबारे तत्कालै कुटनीतिक छलफलको पनि माग गरेको छ ।

सीमा विवादका विषयमा दुई देशले बनाएको प्रबुद्ध समूहको प्रतिवेदन अनुसार काम गरेर अघि बढ्नुपर्ने पनि नेपाल सरकारले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘दुई देशबीचको विकासको प्रकशमा नेपाल सरकार भारतीय सरकारसँग नेपाल भूमिभित्र कुनै गतिविधि नगर्न आह्वान गर्छ ।’

प्रकाशित मिति : २७ बैशाख २०७७ शनिबार ००:००  ४ : ५४ बजे