मायादेवी अनलाइन, वाणगंगा ।
कोरोना संक्रमणको जाँचमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव भइरहदा कपिलवस्तुमा शुक्रबार ६ सय पीसीआर टेष्ट भित्रिएको छ । नेपाली सेनाको जहाजबाट भैरहवा विमान स्थलमा कपिलवस्तुका लागि ६ सय पीसीआर टेष्ट ल्याइएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।
कपिलवस्तुका क्वारेन्टाइन रहेका व्यक्तिहरुको स्वाव संकलनमा स्वास्थ्य सामग्री पिसिआर अभाव हुँदा स्वास्थ्य परिक्षणमा ढिलाई भएको थियो । कपिलवस्तुमा ६ सय पीसीआर टेष्टबाट स्वाव संकलनको कार्यलाई तिव्रता दिइने बताइएको छ ।
स्वास्थ्य सामग्रीको अभावमा कपिलवस्तुका विभिन्न पालिकामा रहेका क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको जाँच हुन सकेको थिएन । शुक्रबार ६ सय पिसिआर कपिलवस्तु भित्रिएसंगै शनिबार मात्रै ३ पालिकाका झण्डै ३ सय जनाको स्वाव संकलन गरिने स्वास्थ्य कार्यालय कपिलवस्तुका कुमार थापाले जानकारी दिनुभयो ।
उहाँले कपिलवस्तु नगरपालिका अन्तरगत १ सय, बुद्धभूमि नगरपालिकामा १ सय ३० जना र यशोधरा गाउँपालिकाका ६० जनाको स्वाव संकलन गरीने जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय कपिलवस्तु अन्तरगत कोभिड-१९ का सम्पर्क व्यक्ति समेत रहनु भएका कुमार थापाले ३ पालिकाको ३ सय जनाको स्वाव संकलन गरी आजै भैरहवा पुगेर नेपाली सेनाको जहाजबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने गरी काम हुने जानकारी दिनुभयो । कपिलवस्तुमा शुक्रबारसम्मको तथ्यांक अनुसार ५ सय ८५ जना क्वारेन्टाइनमा छन् ।
प्रतिक्रिया