मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । शनिबार तीन जना थप संक्रमित थपिएसंगै संक्रमितको संख्या ५ पुगेको हो । विहीबार मात्र जिल्लामा पहिलो पटक दुई जनामा कोरोना भाइरस देखिएको थियो ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतमा संक्रमणको दर तीव्र गतिमा फैलिरहदा यसको असर जिल्लामा पनि परेको देख्न सकिन्छ । खुल्ला सिमा नाका सबैभन्दा बढी कोरोनाको टाउको दुखाई बनेको छ ।
विहीबार देखिएका दुई कोरोना संक्रमित हालैमात्र लुकिछिपि भारत हुँदै आएको प्रष्ट भएको थियो । शनिबार भेटिएकाहरु कुन समय, कहाँबाट आएका हुन अझै प्रष्ट नभए पनि यिनीहरु हालैमात्र भारतबाट आएको भने प्रष्ट हुन्छ ।
बैशाख ८ गते मायादेवी गाउँपालिकाको क्वारेनटाइनमा जम्मा एक जना मात्र थिए । यो बीचमा एका-एक संख्या बढेर ६५ पुगेको छ । गाउँपालिकाको वडा नं. १ पकडीमा रहेको छत्रपाली तिर्थादेवी माविमा रहेको क्वारेनटाइनमा यो संख्या छ । यहि क्वारेनटाइनमा बसेकाहरु मध्येलाई नै कोरोना संक्रमण देखिएको हो । यसले पनि भारतबाट दैनिक नेपाल प्रवेश गरिरहेका छन् भन्ने प्रष्ट हुन्छ । यो समय यस्तो छ । कोही नयाँ मान्छे गाउँमा आयो भने तत्काल घरपरिवार र गाउँलेले क्वारेनटाइनमा पठाउने गर्छन ।
चार दिन देखि कपिलवस्तुको सिमावर्ती दशगजामा साढे ८ सय भन्दा बढी नेपाली नागरिक अलपत्र अवस्थामा छन् । यिनीहरुलाई व्यवस्थापन गर्न तर्फ सरकारको ध्यान जान सकेको छैन् । दशगजामा रहेकाहरु धमाधम लुकिछिपि घर आउँन थालेका छन् । तराईका जिल्लामा घर हुनेहरु जसोतसो घरमा आइरहेका छन् । यद्यपि पहाड घर भएकाहरु भने भौगोलिक दुरीको कारण समस्या भएकाले अपलत्र अवस्थामै छन् । उनीहरु दशगजामै छन् ।
वाणगंगामा शुक्रबार विहान मात्र एक व्यक्ति रातभर हिडेर घर आएका थिए । यी व्यक्तिले कृष्णनगर नाकाबाट मलाई लिन आउनुस भनेर घरमा भनेका थिए । घरपरिवारले स्थानीय नेतालाई छोरा उद्धार गर्न आग्रह गरे । तर, प्रशासनले उद्धार गर्न मिल्दैन भनेपछि ती व्यक्ति रातभर हिडेर एकाविहानै घरमा आए । यो घटनाको विषयमा एक नेताले मायादेवी अनलाइनका संवाददातासंग अनौपचारिक कुराकानीको क्रममा भने ।
यस्तै कयौं व्यक्ति लुकिछिपि घरमा आएका छन् । दशगजामा अलपत्र नागरिकलाई चाडै व्यवस्थापन गरी क्वारेनटाइनमा नराख्ने हो भने स्थिति भयावह हुने स्थानीय तहका सरकार प्रमुख बताउँदै आएका छन् । बिहीबार मात्र रेडियो मायादेवीको कार्यक्रम समय सम्बादमा स्थानीय तहका प्रमुखहरुले नेपाल प्रवेश गर्न केन्द्र सरकारले अनुमती दिए आफुहरुले क्वारेनटाइनमा राख्ने बताएका थिए ।
यता केन्द्र सरकार मातहत रहेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले भने दशगजामा अलपत्रहरुलाई नेपाल प्रवेश गर्न अनुमती दिन नमिल्ने बताएको छ । प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले मायादेवी अनलाइनसंग विहीबार साँझ कुराकानी गर्दै दशगजामा नागरिक त्यही बस्नुपर्ने बताउनुभएको थियो । केन्द्र सरकारसंग पहल गर्दा यही कुरा भनेको भन्दै जहाँ जहाँ अलपत्र छन् त्यहाँ त्यहाँ बस्नुपर्ने पौडेलको भनाई थियो ।
नेपाल र भारतका प्रधानमन्त्रीले कुराकानीको माध्यमबाट तत् देशमा रहेका दुई देशका नागरिकको सुरक्षा दिने सहमती भएको भनिएको थियो । तर, त्यो सहमती भारतको उत्तर प्रदेशले उल्लङ्घन गरेको पाइएको छ । विहीबार विहान दशगजामा अलपत्र परेका ८८ जनालाई भारतले आफ्नो क्वारेनटाइमा पठाएको थियो तर, दुई घण्टा वित्न नपाउँदै फर्काइदिएको छ ।
हजार नजिक नेपाली नागरिक सिमामा अलपत्र पर्दा कसैबाट यसको व्यवस्थापन गर्न चासो नदेखिनु नै कोरोनाको जोखिम उच्च रहेको भन्दै जिल्लाबासी चिन्ता व्यक्त गर्न थालेका छन् ।
प्रतिक्रिया