मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा तीन जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा तीन जना संक्रमित भेटिएका हुन् । संक्रमित १७, १८ र १८ नै वर्षका पुरुष रहेका छन् ।
जिल्लाको मायादेवी गाउँपालिका वडा नं. १ पकडीस्थित छत्रपाली तीर्थादेवी माविको क्वारेनटाइनमा बसेका मध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्लामा विहीबार मात्र २ जनामा कोरोना पुष्टि भएको थियो । यिनीहरु गाउँपालिकाको वडा नं. २ का थिए ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु बाहेक थप ४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार संक्रमितहरुमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीय महिला र पर्साको छपकैयाका ६२ वर्षीय पुरुष्मा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ ।
प्रतिक्रिया