कैलाली ।
कोरोना भाइरस सङ्क्रमित थप एक जना आज निको भएर डिस्चार्ज भएपछि कोरोनाको ‘डेडिकेटेड‘ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल कोरोना सङ्क्रमित बिरामीबाट मुक्त भएको छ ।
अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला आज निको भएर अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।
उहाँ कोरोना भाइरसबाट मुक्त भएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित भएका पाँचै जना निको भएर घर फर्केका अस्पतालका कोरोना उपचार विभाग प्रमुख डा शेरबहादुर कमरले बताउनुभयो । अस्पतालको आइसोलेशनमा पनि कोही शङ्कास्पद बिरामी नरहेको डा.कमरले जानकारी दिनुभयो ।
आज डिस्चार्ज भएकी महिलाको आठ पटकसम्म नमुना परीक्षण गरिएको थियो । ३४ दिन अस्पताल बसेर महिलाले कोरोनालाई जित्नुभएको हो । (रासस)
प्रतिक्रिया