मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना विपद्मा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीलाई कपिलवस्तु उद्योग बाणिज्य संघले दुई लाख बढी सहयोग गर्ने भएको छ । बाणगंगा नगरमा रहेर ज्यानलाई जोखिममा राखी मानव सेवामा अहोरात्र लाग्ने अग्रस्थानका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीलाई विशेष राहत प्रदान गर्न लागिएको जनाइएको छ ।
संघले प्रकाशन गरेको वि सं २०७७ सालको भित्ते पात्रो विमोचन कार्यक्रममा शुक्रबार अध्यक्ष उमानाथ पौडेलले २ लाख १ हजार १ सय ११ रुपैयाँ बराबरको रकम राहत स्वरुप सहयोग गर्ने निर्णय भएको सुनाउनु भयो । सो रकम पहिला नगरको दैवी प्रकोप कोषमा जम्मा गर्ने र यस क्षेत्रमा फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्य, संचार र सुरक्षाकर्मीलाई प्रदान गरिने उहाँको भनाई छ । राज्यबाट र अन्य संघसंस्थाबाट पनि यी क्षेत्रमा काम गर्नेहरुलाई खासै राहत उपलब्ध गराएको नपाइएकाले उनीहरुको दुखलाई बुझेर संघले यो निर्णय गरेको उहाँले सुनाउनु भयो । उहाँले नगद नै दिने या सामाग्री दिने भन्ने विषयमा नगरसंग छलफल भइरहेको समेत बताउनु भएको छ । उहाँले यसबेला सबैले यी ३ पक्षको आत्मबल उच्च बनाउनुपर्नेसमेत बताउनु भयो ।
लक डाउनमा संघले आफ्नो तर्फबाट गर्ने सबै काम गरेको भन्दै उद्योगीको समस्या बुझ्ने कोही नभएको भनी पौडेलले दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “ब्यापारीका दुख बुझ्ने कोही छैन । यो विपद्मा सबै संघले गर्नु परेको छ । तर अपजस हामीले नै खानु पर्दछ । अनेक आरोप खेप्नु पर्दछ ।” साँच्चिकै हाम्रो दुख बुझ्न न त सरकार छ न त अरु कोही उहाँले प्रश्न गर्नुभयो ?” अध्यक्ष पौडेलले कपिलवस्तुमा कोरोना संक्रमणका विरामी देखा पर्न थालेकाले थप सचेतता अपनाउन सरोकारवालाको ध्यानाकर्षण गर्नुभयो । प्रदेश सांसद विष्णु पन्थी, बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्याल, वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्रीले क्यालेण्डरको बिमोचन गर्नुभएको थियो ।
प्रतिक्रिया