९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

छैन कोरोना जाँच गर्ने किट, क्वारेन्टाइनमा बसेकालाई जाँचबिनै घर पठाइयो



प्यूठान ।
र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किट सकिएकाले प्यूठानमा क्वारेन्टाइनमा बसेकाहरुलाई जाँचबिनै घर पठाउन थालिएको छ । प्रदेश सरकारले पठाएको किट सकिएपछि किटमार्फत जाँच गर्ने काम दुई दिनदेखि रोकिएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए ।

जिल्लाका विभिन्न स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टाइनमा बसेका व्यक्तिको १४ दिनपछि आरडीटी जाँच गरी होम क्वारेन्टाइनमा पठाउने गरिएको थियो । तर अहिले जाँच गर्ने किट नभएपछि क्वारेन्टाइनमा १४ दिन पुगेका व्यक्तिको बिनाजाँचनै घर पठाउन थालिएको छ ।

स्वर्गद्वारी, प्यूठान नगरपालिका, गौमुखी गाउँपालिका, मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकाका क्वारेन्टाइनमा बसेका दुई सयभन्दा बढी ज्यक्तिलाई जाँच बिनै घर पठाउन परेको सुबेदीले बताए । स्थानीय तहका प्रतिनिधि, स्वास्थ्यकर्मीको निगरानीमा रहनेगरी घरमा पठाउने गरिएको सुवेदीले बताए । उनले प्रदेश सरकारबाट चाँडै किट पठाउने आश्वासन आएकाले किट आएपछि क्वारेन्टाइनमा रहेकाहरुलाई जाँच गरेर मात्र पठाइने बताए ।

जिल्लामा ३ सय २० वटा किट प्राप्त भएकोमा सबै किट प्रयोग भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । क्वारेन्टानमा बसेकाहरुलाई बिनापरीक्षण घर पठाउदा कोरोनाको जोखिम बढेको भन्दै जिल्लाका सामाजिक अगुवाहरुले चिन्ता गर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार जिल्लामा अझै ७ सय ९९ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७ शुक्रबार ००:००  ७ : ११ बजे