मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले दशगजामा अलपत्र नागरिकलाई तत्काल केहिँ गर्न नसकिने प्रतिक्रिया दिनुभएको छ । केन्द्र सरकारसंग पहल गरेर दशगजामा अलपत्र नागरिकलाई व्यवस्थापनको प्रयास गरेपनि केन्द्रले केहि गर्न सकिन्न भनेको उहाँले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेकाले सिमा नाकामा झन कडाई गर्न केन्द्रले भनेको पौडेलले बताउनुभयो ।
पछिल्लो तीन दिन देखि कपिलवस्तुमा साढे ८ सय बढी नेपाली नागरिक अलपत्र आवस्थामा छन् । भारतमा दिनानु दिन कोरोना संक्रमित बढीरहेको र लकडाउन लम्बिएको कारण नेपालीहरु धमाधम दशगजासम्म आएका छन् । दशगजामा अलपत्र यी नागरिकलाई भारत सरकारले नेपाल पठाएको छ भने नेपाल सरकारले नेपाल प्रवेश गर्न दिएको छैन् । कोरोना संक्रमणको जोखिम भारतबाट आउँनेहरुमा बढी भएकाले तत्काल अलपत्र नागरिकलाई नेपाल प्रवेश गर्न नसकिने सरकारले जनाएको छ ।
पूर्ववत नेपाल सरकार र भारत सरकार बीच तत् देशमा रहेका नागरिकलाई आ आफ्नो देशमा सुरक्षित गर्ने सहमती भएको थियो । तर, भारतले उक्त सहमती ताडेको आरोप लागेको छ ।
विहीबार मात्र दशगजामा रहेका ८८ जनालाई भारतीय क्वारेनटाइनमा पठाइए पनि दुई घण्टा वित्न नपाउँदै भारतले यी नागरिकलाई दशगजा ल्याएर छाडेको थियो ।
अहिले जिल्लाका चकडचौडा, मर्यादपुर, महाराजगञ्ज, कृष्णनगर लगायतका नाकामा नेपाली नागरिक अलपत्र परेका छन । यी नागरिकलाई सिमावर्ती स्थानीय तहले दशगजामै गाँस र बाँसको व्यवस्था मिलाएका छन् । सरकारले नेपाल प्रवेश गर्न दियो भने आफुहरुले क्वारेनटाइनमा राख्ने स्थानीय सरकारले बताउँदै आएका छन् ।
प्रतिक्रिया