मायादेवी अनलाइन, चारनम्बर ।
दुई जना कोरोना संक्रमित भेटिएपछि यसको सम्भावित जोखिम हुन नदिनका लागि कपिलवस्तुका स्थानीय तह आ-आफ्नो तरिकाबाट लागेका छन् । खुल्ला सिमा नाकाको कारण कोरोना संक्रमणको जोखिम जिल्लामा अत्याधिक छ । भारतमा दिन प्रतिदिन कोरोना संक्रमित बढीरहेका बेला भारतीय सिमावर्ती स्थानीय तहसंगै जिल्लाका अरु स्थानीय तहमा पनि यसको जोखिम बढ्दो छ ।
रेडियो मायादेवीको कार्यक्रम समय संवादसंग शुक्रबार विहान कुराकानीको क्रममा शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले लकडाउनको पूर्ण पालना गरी कोरोनाको सम्भावित जोखिमबाट नगरबासीलाई बचाउन विभिन्न काम गरिरहेको जानकारी दिनुभयो । नगरभित्र क्वारेनटाइनको व्यवस्थासंगै भारतबाट लुकिछिपि प्रवेश गरेर आउनेलाई निगरानी बढाइएको नगर प्रमुख अधिकारीले बताउनुभयो । भारतबाट आउने जो कोहीलाई पनि अनिवार्य क्वारेनटाइनमा राख्ने व्यवस्था मिलाइएको भन्दै सिमामा अलपत्र नागरिक यदी नेपाल प्रवेश गर्न पाए आफुहरु क्वारेनटाइनमा राख्न तयार रहेको बताउनुभयो । सिमामा अलपत्र नागरिकलाई तत्काल उद्धारको विकल्प नभएको उहाँले औल्याउनुभयो ।
विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले भारतीय सिमा नाका हुँदै नेपाल छिर्नेहरुबाट नै सबैभन्दा बढी कोरोना संक्रमणको जोखिम रहेकाले यसको निगरानीमा नगर प्रहरी परिचालन गरिएको बताउँनुभयो । सिमा नाकाबाट लुकिछिपि प्रवेश गर्नेहरुलाई नगर प्रहरीले निगरानी गर्ने र देख्दा वित्तिकै उनीहरुलाई गाउँपालिकाले निर्माण गरेको क्वारेनटाइनमा राख्ने अध्यक्ष थापाले बताउनुभयो । साथै उहाँले भारतमा कतिको संख्यामा रोजगारी गर्न गाउँपालिकाबासी गएका छन भन्नेबारे तथ्याङ्क निकाल्ने काम शुरु गरेको पनि उहाँले जानकारी दिनुभयो । भारतीय सिमा नाकामा अलपत्र नागरिकलाई केन्द्र सरकारले आदेश दिए आफुहरुले आफ्नो क्वारेनटाइनमा राख्न तयार रहेको उहाँले बताउनुभयो ।
यशोधरा गाउँपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेयले दशगजामा अलपत्र नेपाली नागरिकलाई सरकारले अविलम्व व्यवस्थापन गर्नुपर्ने माग गर्नुभयो । तीन दिन देखि सयौं नागरिक दशगजामा अलपत्र परेको भन्दै उनीहरुको व्यवस्थापन गर्न केन्द्र सरकारले ध्यान नदिएको गुनासो गर्नुभयो । दशगजामा अलपत्र नागरिक नेपाल प्रवेश गर्न नपाउने र भारतले व्यवस्थापन नगरेको कारण स्थिती भयावह भएको उहाँले बताउनुभयो ।
भारतले दशगजामा अपलत्र परेकालाई क्वारेनटाइनमा राख्ने सहमती गरेपनि दुई घण्टा नवित्दै सहमती तोडेको उहाँले आरोप लगाउनुभयो । यी नागरिकलाई चाँडै व्यवस्थापन गर्न नसके कोरोनाको संक्रमण तीव्र हुने उहाँले चेतावनी दिनुभएको छ । नागरिकलाई दशगजामा राखेर समस्याको समाधान नहुने भन्दै उनीहरुलाई नेपाल प्रवेश गराई सिमावर्ती स्थानीय तहको क्वारेनटाइनमा राख्न उचित हुने उहाँले धारणा राख्नुभयो ।
प्रतिक्रिया