मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु उद्योग बाणिज्य संघले वि सं २०७७ सालको भित्ते पात्रो सार्वजनिक गरेको छ । लक डाउनका कठिन घडीमा छोटो समयमा तयार पारिएको भित्ते पात्रोलाई शुक्रबार एक समारोहकाबीच संघको सभाहलमा सार्वजनिक गरिएको हो । प्रदेश सांसद विष्णु पन्थी, बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्याल र वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले संयुक्त रुपमा भित्ते पात्रो (क्यालेण्डर)को विमोचन गर्नुभयो ।
भित्ते पात्रोमा २०७७ सालमा रहेका तिथि मिति, दिवस,पर्व इत्यादिलाई प्रष्टरुपमा उल्लेख गरिएको छ । ६ पृष्ठमा तयार भएको क्यालेण्डरमा संघले अघिल्लो वर्ष गरेका महत्वपूर्ण गतिविधि र क्रियाकलाप, महत्वपूर्ण सूचना तथा फोन नम्बर , उद्योग संघभित्रका सदस्यहरुको ब्यावसायिक परिचय आदिलाई समेटिएको छ ।
यसैबीच विमोचन कार्यक्रममा बोल्ने सबैले लक डाउनमा पनि संघले ‘सप्राइज’ दिएको भन्दै प्रसंसा गरेका छन् भने कपिलवस्तुमा कोरोना देखिएपछि थप सचेतता अपनाउन आग्रह गरिएको छ । प्रमुख अतिथि प्रदेश सांसद विष्णु पन्थीले कपिलवस्तु उद्योग संघ जिल्लाको कान्छो संघ भए पनि काम गराइमा सबैभन्दा जेठो भएको बताउनु भयो । उहाँले अन्य समयमा क्यालेण्डर प्रकाशन सामान्य कुरा भए पनि लक डाउनको बेलामा कसैले नगरेको कार्य संघले गरेको भनी खुलेर प्रसंसा गर्नु भयो ।
लक डाउनको अवस्थामा संघले गरेका गतिविधि उल्लेखनीय त छँदै थियो उहाँले भन्नुभयो, फेरि क्यालेण्डर प्रकाशन गरेर अर्को राम्रो काम गर्यो । सांसद पन्थीले लक डाउनका कारण मुलुकभरको आर्थिक अवस्था डामाडोल भएको भन्दै चिन्ता गर्नुभयो । बल्ल लक डाउन गर्नु पर्ने अवस्था आएको भन्दै यो गएको साढे १ महिने लक डाउनमा सरकारले कमजोरी गरेको बताउनु भयो ।
उहाँले भारतीय सिमानाका र अन्र्तराष्ट्रिय उडान रोकेर आर्थिक गतिविधि चलायमान गराएको भए राम्रो हुने बताउँदै यसमा सरकारले गल्ती गरेको बताउनु भयो । आर्थिक क्षेत्रमा अध्ययन र चासो राख्ने सांसद पन्थीले जतिसक्दो लगानी बढाउन ब्यावसायीलाई अनुरोध गर्नु भएको छ । कोरोनाको त्रासमा नरही कोरोना मैत्री बन्दै कोरोनाको समाप्तिपछि देशभरकोआर्थिक अवस्था उकास्न सरकारले नीजि क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी रहेको उहाँको भनाई छ ।
बाणगंगाका उपमेयर चक्र अर्यालले संघले कठिन घडीमा क्यालेण्डर निकालेर उदाहरणीय काम गरेको बताउनु भयो । जिल्लका अरु उद्योग संघभन्दा काम गराईमा कपिलवस्तु उद्योग संघ सबैभन्दा अगाडी रहेको भन्दै कोरोना विपद्मा गरेको कामको प्रसंसा गर्नुभयो । २ महिनापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा बोल्न पाउँदा नयाँपनको अनुभूति भएको भन्दै उहाँले छोटो समयमा पनि धेरै राम्रो भित्ते पात्रो प्रकाशन गरेकोमा अध्यक्ष उमानाथ पौडेल र संघका पदाधिकारीलाई धन्यबाद दिनुभयो ।
वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्रीले संघले सदैव राम्रो काम गरिरहेको स्मरण गर्दै क्यालेण्डर प्रकाशन पनि राम्रो कामको निरन्तरता रहेको बताउनु भयो । उहाँले कपिलवस्तुमा कोरोना देखिएपछि बाणगंगामा थप सुरक्षा सचेतता अनाउन आवश्यक रहेको आवश्यकता औँल्याउनु भयो ।
अध्यक्ष उमानाथ पौडेलले यसमा क्यालेण्डर प्रकाशन समितिका संयोजक डोलकराम घिमिरे लगायत सदस्यहरुको अथक मिहिनेत र सहयोग रहेको भन्दै सबैलाई धन्यबाद दिनुभयो । उहाँले भन्नुभयो “आज जसरी चौतर्फी संघको प्रसंसा भएको छ, त्यो सदस्य साथीको लगावले गर्दा भएको हो । अझै धेरै यस्ता कार्यमा हामी लागि पर्ने छौँ ।”
कोरोनाका कारण आर्थिक चपेटामा परे पनि क्यालेण्डर प्रकाशनमा विज्ञापन दिएर सहयोग गर्ने सबैलाई उहाँले विशेष धन्यबाद दिनुभयो । संघका महासचिव लक्ष्मण अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष यज्ञ भट्टराई, सल्लाहाकार विष्णु न्यौपाने, शशष्त्र प्रहरी बल पिपराका इन्सपेक्टर चन्द्र बहादुर खत्री, उपाध्यक्ष रुक बहादुर भुषाल लगायतको सहभागिता थियो । अध्यक्ष पौडेलले कपिलवस्तुमा कोरोना संक्रमणका विरामी देखा पर्न थालेकाले थप सचेतता अपनाउन सरोकारवालाको ध्यानाकर्षण गर्नुभयो ।
प्रतिक्रिया