एजेन्सी ।
म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले आफूले लामो समयदेखि फुटबललाई मिस गरिरहेको बताएका छन् । विश्वभर फैलिएको कोरोना भाइरसका कारण खेलकुद प्रतियोगिताहरू स्थगित हुँदा हाल खेलाडीहरू खेलमा फर्कन चाहिरहेका छन् । खेलाडीहरूमा आफ्नो खेल स्तर गुम्ने चिन्ता पनि छ ।
“म साँच्चिकै फुटबल मिस गरिरहेको छु । म सात महिनादेखि घाइते थिएँ । सेल्फ प्रशिक्षण गरिरहेको थिएँ । म मैदान फर्कनुअगावै कोरोना भाइरसका कारण खेलहरू स्थगित भए,” पोग्बाले ‘दी हुड्ले’ सोमा भने ।
फ्रान्सेली विश्वकप विजेता पोग्बा सन् २०१६ मा इटालियन क्लब युभेन्ट्सबाट म्यान्चेस्टर युनाइटेड आएका हुन् । उनी पछिल्लो समय उत्कृष्ट खेलाडीका रूपमा चिनिन्छन् । “म छिटै मैदानमा फर्कन चाहन्छु । मलाई पूर्ण विश्वास छ मैले राम्रो खेल पस्कनेछु । यदि मैले फुटबलमा कमब्याक गरें भने उत्कृष्ट हुन चाहन्छु,” पोग्बाले भने ।
प्रतिक्रिया