मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा भेटिएका दुई जना कोरोना संक्रमितलाई बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा पठाइएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको थियो । जिल्लाको मायादेवी गाउँपालिका वडा नं. २ का ती व्यक्तिलाई आज (शुक्रबार) एम्बुलेन्सको माध्यमबाट बुटवल पठाइएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिनुभयो । कपिलवस्तुमा कोरोना संक्रमितलाई उपचार गर्ने व्यवस्था नभएको कारण बुटवल पठाइएको उहाँले बताउनुभयो ।
यता कोरोना संक्रमित भेटिएपछि सर्तकताका प्रयास कसरी अगाडि बढ्छ भन्ने आम नागरिकको चासो छ । प्रजिअ पौडेलले प्रदेशबाट स्वास्थ्यकर्मीको एक विशेष टोली आउँदै गरेको जानकारी दिनुभयो । उक्त टोली आइसके पछि के गर्ने भन्ने निक्र्यौल हुने उहाँले बताउनुभयो ।
बैशाख ७ गते यी व्यक्ति लुकिछिपि हुँदै आएका थिए । लगत्तै उनीहरुलाई क्वारेनटाइनमा राखिएको बताइएपनि उनीहरु को कोसंग सम्पर्कमा रहे पत्ता लाग्न सकेको छैन् । यो विषयमा पनि अनुन्धान गर्ने तयारीमा प्रशासन लागेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तु नगरपालिका वडा न. ८ का संक्रमित रहेको भने पनि यी नागरिक मायादेवी गाउँपालिका वडा नं. २ का रहेको पुष्टि भएको छ । यद्यपि विहीबार राति जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मायादेवी ८ का रहेको भनेपनि शुक्रबारमात्र उनीहरु वडा नं. २ को रहेको खुलेको हो ।
प्रतिक्रिया