संगिता भुसाल, चारनम्बर ।
कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र तौलिहवाले आयुर्वेद तथा वैकल्पिक चिकित्साबाट कोरोना रोकथाम र नियन्त्रण कार्यक्रम सुरु गरेको छ ।
कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र तौलिहवाका डा. विजय भुर्तेल सहितको टोलीले जिल्लाको शिवराज नगरपालिका रहेका दुई क्वारेन्टाइनबाट उक्त कार्यक्रम सुरु गरिएको हो ।
शिवराजको सुपा देउराली रिसोर्टमा रहेका २० जना र दुर्गा मन्दिरमा निगरानीमा राखिएका ७ जना सहित क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी गरी ४० जना कार्यक्रममा सहभागी भएका छन् ।
क्वारेन्टाइनमा रहेका व्यक्तिहरु मानसिक तनाव र चिन्तामा रहेको भन्दै केन्द्रले “तनाव व्यवस्थापन योग प्याकेज” मार्फत ४५ मिनेटको अभ्यास गराएको छ्र । उक्त अभ्यासमा सुक्ष्म व्यायाम, योगासन, प्राणयाम, ध्यान, हास्यासन र नित्यसहितको अभ्यास गराइको छ ।
क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई नियमित गुर्जी चुर्ण, आमलकी चुर्ण लगायत रोग प्रतिरोधात्मक क्षमता भएका आयुर्वेद औषधि शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुरामणि भट्टराईलाई हस्तान्तरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर भुर्तेलले बताउनुभयो ।
यस्तै क्वारेन्टाइनमा रहेका जेष्ठनागरिकलाई अश्वगन्धा चुर्ण, स्तनपायी आमाको लागि शतावारी चुर्ण र बच्चाको लागि दशमूल मालिस तेल पनि वितरण गरिएको डाक्टर भुर्तेलले बताउनुभयो ।
क्वारेन्टाइनमा बस्दा अल्छी लागेको र घरपरिवारको चिन्ता भइरहेको समयमा रमाईलो योग, दिल खोलेर हास्दा र नाच्दा मन खुसी लागेको सुपदेउराली रिसोर्ट क्वारेन्टाइनमा रहेका एक व्यक्तिले बताउनुभयो ।
महामारीको बेलामा के खाने, बिहान देखि राति सम्म कस्तो कस्तो क्रियाकलाप गर्दा स्वस्थ भइन्छ भन्ने जस्ता जीवनशैली व्यवस्थापन सम्बन्धि जानकारी पाएको दुर्गा मन्दिर क्वारेन्टाइनमकी एक महिलाले बताएकी छन् ।
प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयले (कोभिड १९) रोकथाम तथा व्यवस्थापनमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई प्रयोग गर्ने निर्णय गरेअनुसार कार्यक्रम अगाडी बढाईएको कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।
कपिलवस्तु जिल्लाका सम्पूर्ण क्वारेन्टाइनमा पुगीस्थानीय तहको समन्वयमा सेवा दिने कार्यालयको लक्ष्य छ । कार्यक्रममा नियमित योगाभ्यास, गुर्जो आदि रोग प्रतिरोधि चिया पान, अमला चुर्ण सेवन र जीवनशैली व्यवस्थापन परामर्श गरिने छ ।
प्रतिक्रिया