मायादेवी अनलाइन, चारनम्बर ।
भारतमा कोरोनाको संक्रमण दर तीव्र रुपमा फैलिएपछि आफ्नो भूमि नेपाल फर्किएका साढे ५ सय नेपाली नागरिक कपिलवस्तु सिमा नाकामा अलपत्र परेका छन् । नेपाल सरकारले यो विषयलाई गम्भीर रुपमा लिन नसक्दा त्यसको चपेटामा नेपाली नागरिक परेका हुन् ।
दुई दिन पहिले १ सय ५० नागरिक सिमासम्म आएको भएपनि अहिले त्यो संख्या बढेर ५ सय ५० पुगेको छ । यी नागरिकलाई न भारतका क्वारेनटाइनमा राख्ने व्यवस्था गरिएको छ न नेपाल नै छिर्न दिइएको छ ।
विहीबार विहान भारतीय पक्षसंगको सहमतीको आधारमा ८८ नेपाली नागरिकलाई भारतको क्वारेनटाइनमा लगिए पनि भारतले यो निर्णय तोडेको छ । दुई घण्टामै भारतले क्वारेनटाइनमा पठाइएका नागरिकलाई नेपाल फिर्ता गरेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
भारतले किन नेपाली नागरिकलाई फिर्ता पठायो यो विषयमा आफुले पटक पटक बुज्न खोजेपनि भारतीय अधिकारीसंग कुरा हुन नसकेको प्रजिअ पौडेलले बताउनुभयो ।
केही साता पहिला नेपाल सरकार र भारत सरकारबीच दुवै देशमा रहेका नागरिकलाई आ-आफ्ना नागरिकलाई दुवै पक्षले हेर्ने सहमती भएको थियो । तर, अहिले भारतले त्यो सहमती उल्लङ्घन गरेको कपिलवस्तुमा अलपत्र नेपाली नागरिकको हरिविजोगले प्रष्ट भएको छ ।
भारतीय क्वारेनटाइनमा नेपाली नागरिक राख्ने भनिएपनि अहिलेसम्म अलपत्र नेपाली नागरिकलाई राख्न सकिएको छैन् । अहिले यी नागरिक दशगजामा अलपत्र परेका छन् । जिल्लाबाट यो विषयलाई समाधान गर्न नसकिए पछि केन्द्र सरकारसम्म यो कुरा पुर्याइएको छ ।
केन्द्र सरकारले अलपत्र नागरिकलाई के गर्ने भन्नेबारे निर्णय लिएपछि मात्रै सबै कुरा थाहा हुने प्रजिअ पौडेलले बताउनुभयो । अहिले दशगजामा रहेका नागरिकलाई कपिलवस्तुका सिमावर्ती क्षेत्रमा रहेका स्थानीय तहले खाना खुवाउने व्यवस्था मिलाएको उहाँले जनाउनुभयो ।
भारतमा काम नपाउने, कम्पनी बन्द हुने गरेपछि खान वस्न समस्या भएको भन्दै आफुहरु आफ्नो देश फर्किन बाध्य भएको अलपत्र उनीहरुले बताएका छन् । भारत सरकारले सिमाबाट ती नेपालीलाई सहज रुपमा नेपाल छिर्न अनुमति दिएपछि अहिले उनीहरु कपिलवस्तुको सिमा क्षेत्र चाकरचौडा, मर्जादपुर, कृष्णनगर लगायतका नाकामा अलपत्र अवस्थामा छन् ।
उनीहरुले भारतबाट निर्बाध रुपमा नेपाल छिर्न अनुमति पाएको र नेपाल आएको बताएका छन् । उनीहरुका अनुसार भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले आफूहरुलाई घर पठाइदिन सहयोग गरेको बताइएको छ ।
भारतको महाराष्ट्र, दिल्ली, उत्तर प्रदेश लगायतमा कोरोना तीव्र रुपमा फैलिएकाले उनीहरु नेपाल छिरेपछि निकै त्रास बढेको छ । धेरैदिनसम्म पेटभरी खान नपाएको, विष्कुट र चाउचाउको सहायताले बोर्डरसम्म आएको उनीहरु बताएका छन् ।
विभिन्न नाकामा रहेका नेपालीहरु अलपत्र परेपछि गाउँमा छिर्दा कोरोनाको त्रास फैलने समस्या, यसै नेपाल आउन नपाउँदा नेपाली नागरिक भौकै बस्न बाध्य रहेको जिल्ला समन्वय समितिका सदस्य अनुप कुमार पाण्डेयले बताउनुभयो ।
यो विषयमा के भन्छन कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी पौडेल ? सुन्नुहोस अन्तर्वार्ता
प्रतिक्रिया