९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सिमित ब्यक्तिको सहभागीतामा मनाईयो २५६४ औं बुद्ध जयन्ती



मायादेवी अनलाइन, तौलिहवा ।
सिमित ब्यक्तिहरुको सहभागीतामा कोराना भाइरसको महामारीबाट छिट्टै मुक्ति मिलोस भन्ने कामना सहीत यस बर्षको २५६४ औं बुद्ध जयन्ती मनाईएको छ । सरकारी निर्देशन अनुसार लकडाउनको पूर्णपालना गरी सामाजिक दुरी कायम गरी प्रार्थना गरिएको थियो । भिक्षु, भिक्षुणीले मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन तथा पूजा गरेर विश्व शान्ति तथा कोभिड–१९ उन्मुलनका लागि प्रार्थना गरेका थिए ।

हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झनास्वरुप बुद्ध जयन्ती मनाउने गरिन्छ । भिक्षु मैत्रेयसहीत १० जना भिक्षुको टोली र लुम्बिनी विकास कोषका पदाधिकारीहरुको सम्मलित टोलीले मायादेबी मन्दिरमा बिहीवार बिहान पूजापाठ गरे । भिक्षु भिक्षुणी, लामागुरु, गुरुमा र अमनागरिकद्वारा मायादेवी मन्दिरमा पूजाआजा गरिएको थियो ।

मायादेबी मन्दिरमा भिक्षु र कोषका पदाधिकारीको टोलीले करिब एक घन्टा प्रार्थना र पाठ गरे । कोरोना भाइरसका कारण यस बर्षको पूर्व निर्र्धारित कार्यक्रम स्थगित गरिएको छ । कोषका उपाध्यक्ष भिक्षु अवधेश कुमार त्रिपाठीले कोरोना भाईरसको महामारीका कारण यस बर्ष कोषका पदाधिकारी र भिक्षु सहीत करिब २५ जनाको टोलीद्धारा मायादेबी मन्दिरमा बिशेष प्रार्थना गरी मनाईएको बताए । ‘कोरोना भाइरसका कारण बिश्व नै आक्रान्त भएको बेला सिमित ब्यक्तिले बुद्ध जयन्ती मनाएका छौ’ उनले भने । उनले कोरोना भाइरसले मानवजातिलाई नै संकटमा पारेकोले त्यसबाट छिट्टै मुक्ति मिलोस भन्ने कामना गरेको बताए ।

उता बुद्धजयन्तीका अवसरमा बिहीवार साझ प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेल आउने कार्यक्रम तय भएको कोषका सदस्य राजेश ज्ञवालीले बताए । मुख्यमन्त्रीको अगुवाईमा मायादेबी मन्दिरमा २५६४ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम छ । विहार, मोनाष्ट्री र गुम्बाका १०÷१५ जना भिक्षु भिक्षुणी, लामागुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा पूजाआजा गरिएको थियो ।

यस्तै कपिलवस्तुको तिलौराकोट र निग्रोधराम, नवलपरासीको रामग्राममा समेत सीमित ब्यक्तिहरुको सहभागीतामा दीप प्रज्वलन गरिने कार्यक्रम रहेको कोषका सदस्य राजेश ज्ञवालीले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७७ बिहिबार ००:००  ३ : १८ बजे