मायादेवी अनलाइन, चारनम्बर ।
आज वैशाख पूर्णिमा अर्थात् २५६४ औं बुद्ध जयन्ती । हरेक बर्ष भव्य रुपमा मनाईदै आइएपनि यस बर्ष कोरोना भाइरसका कारण कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन् । हरेक बर्ष बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रम हुँदै आएपनि यो बर्ष नहुने भएको छ । लकडाउनले गर्दा बुद्धजन्मस्थल लुम्बिनी र क्रिडास्थल सुनसान छ ।
नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६४ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गरेका थिए ।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागे ।
छ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रूपमा उनले विश्व प्रसिद्धि पाए ।
वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ ।
बुद्ध धर्म र गौतमबुद्धका उपदेश मान्ने अनुयायीहरू नेपालसहित भारत, चीन, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया आदि देशमा फैलिएका छन् ।
संसारभरि फैलिएको बुद्ध दर्शनको उद्गम विन्दु नेपालमा भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ । गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीले भगवान विष्णुका १० अवतारमध्ये एक अवतार मान्दछन् ।
साँझ देशभरि घरघरमा दीप प्रज्वलन गरिदैं
बुद्धजयन्तीको दिन कुनै औपचारिक कार्यक्रम आयोजना नभए पनि सरकारले आज साँझ देशभरि घरघरमा दीप प्रज्वलन गर्न भनेको छ । बुधबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बुद्ध जयन्तिको अवसर र कोरोनाभाइरसविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।
बुद्ध जयन्तिको अवसरमा सार्वजनिक विदा
सरकारले बुद्ध जयन्तिको अवसरमा बिहीबार सार्वजनिक विदा दिएको छ । २०७६ चैत ९ को मन्त्रिपरिषद बैठकले गरेको निर्णय र चैत १७ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार वैशाख पूर्णिमारचण्डी पूर्णिमा र बुद्ध जयन्तिका दिन बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले बुधबार सूचना निकालेर बिहीबार मुलुकभर सबैलाई लागू हुने गरी बिदा रहेको जानकारी गराएका छन् ।
तस्बीरः फाइल
प्रतिक्रिया