९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

२५६४ औं बुद्ध जयन्तीका लागि सजाईयो ‘मायादेवी मन्दिर’



मायादेवी अनलाइन, तौलिहवा ।
कोरोना भाइरसका कारण यस बर्षको २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित गरिए पनि बिहीवार बैशाख २५ गते मनाइने बुद्धजयन्तीका लागि मायादेवी मन्दिर सिंगारिएको छ । मन्दिरको गजुर र चारैतिर रंगरोगन गरेर चिटिक्क पारिएको छ ।

त्यसैगरी मन्दिरको चारै कुनामा नेपालको झण्डा राखिएको छ । मायादेवी मन्दिरमा सिमित ब्यक्तिहरुको सहभागीतामा पुजापठा र २५ सय ६४ वटा दीप प्रज्वलन गरिने लुम्बिनी विकास कोषका सचिव ज्ञानीन राईले बताए । मायादेवी मन्दिरमा कोषका सदस्य, भिक्षुहरुको सीमित टोलीले प्रार्थना र २५६४ वटा दीप प्रज्जवलन गर्ने कार्यक्रम छ । कोषले विहार, मोनाष्ट्री र गुम्बाका १० १५ जना भिक्षु भिक्षुणी, लामागुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा पूजाआजा गरिने सचिव राईले बताए ।

सरकारले कोरोना भाइरस रोकथामका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरी पूजा र प्रार्थना गरिने कार्यक्रम रहेको रहेको विकास कोषले जनाएको छ । यस्तै कपिलवस्तुको तिलौराकोट र निग्रोधराम, नवलपरासीको रामग्राममा समेत सीमित ब्यक्तिहरुको सहभागीतामा दीप प्रज्वलन गरिने कार्यक्रम रहेको कोषका सदस्य राजेश ज्ञवालीले बताए ।
तस्बिर सौजन्य- भिक्षु सागर धम्म ।

प्रकाशित मिति : २४ बैशाख २०७७ बुधबार ००:००  १० : ३८ बजे