९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुको नाका हुँदै छिरेका ३ सय ५३ जनाको विचल्ली, फेरी भारततिरै फर्काउने तयारी



मायादेवी अनलाइन, तौलिहवा ।
कोरोना भाइरस (कोभिड–१९) का कारण सिमा नाका बन्द गरिएको बेला जिल्लाका बिभिन्न नाकाबाट नेपाल प्रबेश गर्नेक्रम समेत बढेको छ । सोेमवारदेखि बुधवार साँझ ४ बजेसम्म नेपाल प्रबेश गर्न खाज्ने ३ सय ५३ जना अहिले कपिलवस्तुस्थित दशगजामा अलपत्र छन् । भारतका बिभिन्न स्थानमा रोजगारीका लागि गएकाहरु अहिले फर्कनेक्रम बढेको छ ।

उनीहरुलाई भारतीय सुरक्षाकर्मीले सिमासम्म ल्याएर छाड्यो । लगत्तै नाकाबाट छिर्नेक्रममा सशस्त्र प्रहरीले रोक्यो । अहिले ३ सय ५३ जनाको दशगजा मै बास भएको छ । दशगजा क्षेत्र नेपाल र भारतको सिमा छुट्टाउने क्षेत्र हो । दुःखकष्ट सहेर बल्तल्तल्ल नेपालको सिमा आएका उनीहरु प्रबेश नपाए पछि मर्कामा परेका छन् । उनीहरु खुला आकाश मुनी बस्न बाध्य छन् । हावाहुरी बर्षाको मौसममा उनीहरु खुला आकाशमुनी बस्न बाध्य भएका हुन् ।

भारतको मुम्बईबाट १० दिनको कठिन यात्रापछि बल्लतल्ल सिमामा आईपुगेका कपिलवस्तु नगरपालिका वडा नम्बर नं. ४ का रामेश्वर यादवले भारतीय सुरक्षाकर्मीले आउन दिए पनि नेपाली सुरक्षाकर्मीले राके पछि अहिले दशगजा मै बास भएको बताए । दुई दिनदेखि दशगजामा रहेको उनले सिमामा अलपत्र भएका आफुहरु निकै मर्कामा परेको बताए । ‘हावाहुरी, पानीको मौसम छ, लामखुट्टेले टोकेको छ, खाने कुरा केही छैन्’ नेपाल प्रबेश गर्न नदिए पछि निकै आक्रोशित हुँदै उनले भने, ‘आफ्नो देश आउन पनि बिरानो भए जस्तो लाग्यो’ उनले भने ।

यादव जस्तै अहिले भारतको मुम्बई दिल्ली गुजरात लगायतका शहरबाट फर्केर सिमा दशगजामा बसेकाहरुले कष्टकर जीवन बिताउन बाध्य छन । यशोधरा गाउँपालिका– ४ पिपराका वडाध्यक्ष फत्ते मोहोमम्द मुसलमानले वडा र गाउँबासीको सहयोगमा सिमामा अलपत्र परेकाहरुलाई खान खुवाईएको बताए । ‘हामीले दशगजामा रहेका नेपालीहरुलाई ल्याउन चाहन्छौ तर प्रशासनले अनुमति नदिदा ल्याउन सकेको छैनौं’ उनले भने । दशगजामा रहेकोहरुलाई देख्दा आफुहरु पनि दुःखी भएको भन्दै उनले दशगजामा रहेकाहरुको छिट्टै निकास निकाल्नु पर्ने उनले बताए ।

उता यशोधरा गाउँपालिकाका प्रमुख गिरीजेश कुमार पाण्डेयले दशगजामा रहेका नेपालीहरुको अवस्था दयनीय रहेको बताए । उनीहरुलाई बस्नका लागि पाल र खानेकुुराको ब्यवस्था गरिएको भन्दै पाण्डेयले सिमामा रहेकाहरुलाई गाउँपालिकाको क्वारेनटाइनमा राख्न तयार भए पनि प्रशासनले अनुमति नदिएको बताए ।

भारत तर्फबाट फर्कनेहरुलाई भारत मै र नेपालबाट फर्किन खोज्नेलाई नेपालको क्वारेनटाइनमा राख्ने दुइ देशबीच सहमति भएको थियो । तर, भारतीय सुरक्षाकर्मीले त्यसको कार्यान्वयन न गर्दा अहिले समस्या भएको नेपाली सुरक्षाकर्मी बताउँछन् ।

सशस्त्र प्रहरी उपरिक्षक जनकराज पुरीले कृष्णनगरमा ५०, मर्यादपुरमा १ सय ६, चाकरचौडामा ८१, भिल्मीमा४६, हर्दौनामा ६२, हथिहवामा ७, बिजयनगरमा १ जना छन् । बिभिन्न नाकाबाट प्रबेश गर्न खोज्नेलाई रोकेर त्यहाँ राखिएको उनले बताए ।

उता प्रजिअ दीर्घ नारायण पौडेलले गृह मन्त्रालयको आदेश अनुसार नै आफुहरुले उनीहरुलाई प्रबेश गर्न रोकेको बताए । सिमामा नेपाली नागरिकहरुले दुःख पाईरहेको भन्दै उनीहरुलाई भारत तर्फको क्वारेनटाइनमा राख्ने गरी समन्वय गरिएको बताए ।

मर्यादपुर र त्यस आसपास रहेका १ सय १६ जनालाई भारतीय क्वारेनटाइनमा राख्ने गरी लगिएको उनले बताए ।

उता अहिले लुकीछिपी नेपाल प्रबेश गर्नेक्रम समेत बढेको छ । जसले गर्दा कपिलवस्तु कोरोनाको उच्च जोखिममा परेका हो । प्रहरी उपरिक्षक दीप शमशेर जबराले सिमा नाकामा सक्दो निगरानी गरे पनि लुकीछिपी जिल्ला प्रबेश गर्नक्रम भने नरोकिएको बताए । उनले लुकेर नेपाल प्रबेश गरेका त्यस्ता ब्यक्तिहरुबारे स्थानीयले नै प्रहरीलाई खबर गर्नु पर्ने बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७७ बुधबार ००:००  ८ : ०९ बजे