काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रकाशन विभाग इन्चार्ज अनिल शर्मा ‘विरही’ लगायत नेता–कार्यकर्तालाई सरकारकाले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहाइका लागि अपिल गरेका छन् ।
विप्लवले एक वक्तव्य जारी गर्दै कोरोना संक्रमणको महामारीका कारण पार्टीको कारबाही स्थगनलाई बेवास्ता गर्दै सरकारले आतंक र हिंसा मच्चाउन खोजिरहेको आरोप लगाएका छन् ।
महासचिव विप्लवले भनेका छन्, ‘आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न गरिरहेको षड्यन्त्र र फासिस्ट दमनप्रति सबै नागरिक, मानवअधिकारकर्मी र राजनीतिक पार्टीको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ ।’
उनले सरकारको अमानवीय दमनको व्यापक भन्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् ।
वक्तव्यमा पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख् अनिल शर्मा ‘विरही’ लाई उपचारका लागि अस्पताल गएको समयमा गरिएको गिरफ्तारीको विरोध गर्दै उनीसहित इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, चितवन जिल्ला सेक्रेटरी दुर्गासहित पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न माग गरिएको छ ।
प्रतिक्रिया