काठमाडौ ।
बहराइनमा थप ८८ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या २४५ पुगेको छ । गत बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि भएको थियो । बहराइनस्थित नेपाली दूतावासका अनुसार त्यसअघि एकैपटक ७७ जना नेपालीमा यस्तो संक्रमण भेटिएको थियो ।
बहराइनमा एक हजार ९ सय ५० जना संक्रमित उपचारमा छन् १ हजार ७ सय ६२ जना डिस्चार्ज भएका छन् । तर, त्यसमध्ये कति नेपाली डिस्चार्ज भए भन्ने खुलेको छैन ।
बिरामीमध्ये धेरै स्थानीय छन् भने आप्रवासीहरूमा भारत, बंगलादेश, पाकिस्तानपछि नेपाली संक्रमितको संख्या ठूलो छ ।
कोरोना संक्रमणकै कारण बहराइनमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ । धेरै संक्रमण देखिएपछि बहराइनमा रहेका नेपालीहरूको परिवार नेपालमा चिन्तामा छन् । तर, बहराइनका लागि नेपाली राजदूतवासले चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएको छ ।
दूतावासका अनुसार कामदारहरूको बासस्थानमा सामाजिक दुरी कायम गर्न नसक्दा संक्रमणको दर बढिरहेको छ । एकैस्थानमा धेरै कामदार बस्ने गरेकाले एक जनामा भएको संक्रमण अन्यमा फैलिएकाले नेपाली कामदारहरू असुरक्षित बन्न पुगेका छन् ।
अहिले बहराइनमा सेमिलकडाउन छ । कम्पनीहरू बन्द भएपनि ठूला परियोजनामा काम भइरहेको छ । बिहान र बेलुका कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ ।
दूतावासले नेपाली कामदारहरुलाई सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन आग्रह गरेको छ ।
प्रतिक्रिया