९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोटेश्वर र खुमलटारलाई सन्देश पठाउँदै बामदेवले भनेः म ओलीतिर गइसकेको छैन



काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई सन्देश पठाएर ‘केपी ओलीतिर नलागे’को बताएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयको निर्णयबाट पछि हट्ने सङ्केत पाएपछि मंगलबार नै वामदेवले सन्देश पठाएका थिए । र, आफू तटस्थ रहेको बताएका थिए ।

“उहाँले हिजो नेता नेपाललाईसाँझ सन्देश पठाएर आफू तटस्थ रहेको बताउनुभएको थियो । उहाँको कुरा कति विश्वसनीय हो रु” नेपाल निकट स्रोतले भन्यो ।

मंगलबार साँझ नेता नेपाललाई मनाउने कोसिस गरेका वामदेव बुधबार बिहानै प्रचण्ड निवास पुगेका थिए । उपाध्यक्ष गौतम बिहान ९ बजे खुमलटार पुगेको प्रचण्ड स्रोतले जानकारी दियो ।

प्रचण्ड र नेता गौतमबीचको संवादबारे स्रोतले खुलाउन चाहेन । शनिबारको सचिवालय बैठकमा नेता गौतमले साथ दिएपछि प्रधानमन्त्री ओलीको राजीनामा टरेको थियो ।

स्थायी कमिटी बैठक नजिकिँदै जाँदा नेता गौतमले क्याम्प परिवर्तनको सङ्केत गरेको स्रोत बताउँछ । उनी निकट केन्द्रीय सदस्य बलराम बास्कोटाले नेता गौतम पार्टी एकताको पक्षमा दृढ रहेको बताए ।

“नेताहरूसँग भेटघाट, कुराकानी गर्नु नौलो कुरा होइन । उहाँ सुरुदेखि नै पार्टी एकताको पक्षमा हुनुहुन्छ । विभाजनका पक्षमा हुनुहुन्न,” बास्कोटाले थपे । बाह्रखरीबाट

प्रकाशित मिति : २४ बैशाख २०७७ बुधबार ००:००  ३ : ५५ बजे