एजेन्सी ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतार विश्वकप २०२२ खेल्ने पूर्ण विश्वास रहेको बार्सिलोनाका पूर्व टिमका साथी जाभीले बताएका छन् । उनले मेस्सी आफ्नो ३९ वर्षेको उमेरसम्म समेत फुटबल खेल्ने सक्ने बताए ।
छ पटकका बालोन डि’ओर विजेता मेस्सी यस सिजन पनि बार्सिलोनाका लागि निकै नै लयमा थिए । तर, सिजनको अन्त्य हुनु पूर्व नै लिग कोरोना भाइरसका कारण स्थगित हुन पुयो ।
मेस्सी बार्सिलोनाको सफलताको समग्र सम्भावनाका लागि धेरै महत्त्वपूर्ण खेलाडी हुन् । त्यसैले सुपरस्टार मेस्सीले क्लब र देशका लागि अझै खेल्न बाँकी रहेकाले उनी ३९ वर्षको उमेरसम्म खेल्न सक्ने जाभीको धारणा छ ।
“मेस्सीसँग अझै पनि पाँचदेखि सात वर्ष बाँकी छन् । उनी स्वयम् आफ्नो शारीरिक फिटनेसमा ध्यान दिइरहेका छन् । त्यसैले उनी आफ्नो ३९ वर्षको उमेरसम्म खेल्ने छन्,” जाभीले भने, “मलाई यो पनि विश्वास छ कि उनले कतार विश्वकप खेल्नेछन् ।”
यदि मेस्सी दीर्घायुको स्तरमा पुगे भने बार्सिलोनाको मुख्य कोचका रूपमा आफूले पदभार सम्हाल्न सक्ने जाभीले बताएका छन् । “मलाई अलि बढी अनुभव चाहिएको छ । बार्सिलोनाको प्रशिक्षक बन्ने मेरो सपना हो । म एक दिन बन्ने छु, मैले धेरै पटक भनेको छु ।”
प्रतिक्रिया