मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको सिमावर्ती क्षेत्र खुनुवा नाकाबाट मङ्गलबार मात्र १ सय ५० जना बढी नेपाली नागरिक प्रवेश गरेका छन् । भारतमा कोरोना तीव्र रुपमा फैलिएसंगै नेपालका बिभिन्न स्थानबाट भारतमा मजदुरी गर्न पुगेका सर्वसाधारण फर्केका जनाइएको छ ।
भारतमा अलपत्र परेपछि उनीहरु आफ्नो भूमि फर्केका हुन् । भारत सरकारले सिमाबाट ती नेपालीलाई सहज रुपमा नेपाल छिर्न अनुमति दिएपछि अहिले उनीहरु खुनुवामा अलपत्र अवस्थामा रहेका स्थानीयबासीले बताएका छन् ।
उनीहरु नेपाल छिरे पनि उनीहरुलाई क्वारेनटाइनमा राख्ने अथवा कहाँ ब्यवस्थापन गर्ने भन्ने विषयमा प्रशासन मौन रहेको बताइएको छ । मङ्गलबार रातिसम्म उनीहरुलाई ब्यवस्थापन गर्न नसके जिल्लामा कोरोनाको संक्रमण फैलन सक्ने खतरा छ ।
जिल्लाका संघीय सांसद अतहर कमाल मुसलमान कामको शिलशिलामा त्यहाँ पुगेको बेला यो अवस्था देखेको बताउनु भयो । मुसलमानका अनुसार नेपाल छिरेकाहरु कपिलवस्तु, अर्घाखाँची, गुल्मी, रुपन्देही लगायतका सर्वसाधारण रहेका छन् ।
उनीहरुले भारतबाट निर्बाध रुपमा नेपाल छिर्न अनुमति पाएको र नेपाल आएको बताएका छन् । उनीहरुका अनुसार भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले आफूहरुलाई घर पठाइदिन सहयोग गरेको उहाँले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
भारतको महाराष्ट्र, दिल्ली, उत्तर प्रदेश लगायतमा कोरोना तीव्र रुपमा फैलिएकाले उनीहरु नेपाल छिरेपछि निकै त्रास बढेको सांसद कमालले बताउनु भयो । यो विषयमा प्रशासनलाई जानकारी गराएको भए पनि खासै चासो नदिएको उहाँले बताउनु भयो । उनीहरु नेपाली नागरिक भएकाले प्रशासनले यथास्थानमा व्यववस्थापन गर्नुपर्नेमा सांसद कमालले जोड दिनुभयो ।
प्राप्त समाचार अनुसार कपिलवस्तु प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएपनि व्यवस्थापन कसरी गर्ने भन्ने अन्यौल छ । भारतबाट भोकैप्यासै सिमा नाकाबाट नेपाल छिरेका उनीहरुले आफुहरु विचल्लीमा परेको दुखेसो पोखेका छन् । धेरैदिनसम्म पेटभरी खान नपाएको, विष्कुट र चाउचाउको सहायताले बोर्डरसम्म आएको बताएका छन् । प्रशासनले पनि उनीहरुलाई क्वारेनटाइनमा राख्ने अथवा घर फर्काउने भन्नेबारे ठोस निर्णय लिइसकेको छैन् ।
स्थानीयका अनुसार उनीहरुलाई समयमा व्यवस्थित नगरेमा भागेर जाने खतरा रहेको बताएका छन् ।
प्रतिक्रिया