९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बर्दियाद्धारा बाँकेसँगको सीमा नाका सिल



काठमाडौं ।
नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि बर्दिया प्रशासनले बाँकेसँगको सीमा क्षेत्र सिल गरेको छ।

बाँकेसँग सीमा जोडिएको बासगढी नगरपालिका र गेरुवा गाउँपालिकाको सीमा क्षेत्र सिल गरिएको बर्दिया प्रशासनले जनाएको छ।

दुई जिल्ला जोड्ने मुख्य सडक नाका मानखोलामा दुईवटा पुल छन् भने बढैयाताल गाउँपालिकाको जमुनीमा झोलुंगे पुलबाट मानिस आउजाउ गर्छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले नेपालगन्जबाट शंकास्पद व्यक्तिहरू बर्दिया पस्ने जोखिम देखिएकाले सीमा सिल गरिएको जानकारी दिए । उनले एम्बुलेन्स, सुरक्षा निकायका र अत्यावश्यक सवारीसाधनबाहेक सम्पूर्ण आवतजावतमा रोक लगाइएको बताए ।

छिमेकी जिल्ला बाँके र कैलाली तथा भारतको बहराइचमा कोरोना संक्रमित देखिएकाले बर्दिया उच्च जोखिममा रहेको भन्दै लामिछानेले लकडाउन थप कडा गरिने बताए ।

कैलालीसँगको सीमा भने करिब एक महिनाअघि नै सिल गरिसकिएको छ। साथै प्रशासनले अनावश्यक भीडभाड हुन नदिन जिल्लामा साताको तीन दिन मात्र उपभोग्य सामान खरिदबिक्री खुला गर्ने निर्णय गरेको छ ।

प्रशासनका अनुसार आइतबार, मंगलबार र बिहीबार बिहान ७ देखि ११ बजेसम्म मात्र खाद्यान्न, तरकारीलगायत पसल खोल्न पाइनेछ । यसअघि प्रत्येक दिन दिउँसो ११ बजेदेखि २ बजेसम्म पसल खोल्न दिइन्थ्यो ।

प्रकाशित मिति : २३ बैशाख २०७७ मंगलबार ००:००  ५ : ५२ बजे