९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

फुटबलर समीक्षाको उपचारमा चिकित्सकको लापरवाही



काठमाण्डौँ ।
चिकित्सकको लापरवाहीका कारण महिला फुटबलकी उदीयमान खेलाडी समीक्षा मगरको उपचार कठिन बनेको छ। गम्भीर चोट लागेको १२ दिन भइसक्दा पनि मगरको आँखाको शल्यक्रिया गर्न सकिएको छैन। उनको आँखाको घाउ दिन प्रतिदिन बढ्दै गएको छ।

उदयपुरको बेलका नगरपालिका–६ की समीक्षाको यही वैशाख १२ गते बारीमा काम गर्दा ढुङ्गा उछट्टिँदा दाहिने आँखामा चोट लागेको थियो।अर्को दिन उनलाई उपचारका लागि बुबा र दाजुले मोटरसाइकलमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइपुर्याएका थिए। प्रतिष्ठानका चिकित्सकले आँखाको उपचार थाल्नुको सट्टा समीक्षालाई कोरोना भाइरसको आशङ्कामा आइसोलेसनमा राखेका थिए। “

उदयपुरबाट आएको भन्ने थाहा पाएपछि आइसोलेसनमा राखे, उपचारतर्फ ध्यान दिएनन्”, हाल विराटनगरस्थित आँखा अस्पतालमा रहेका समीक्षामा बुबा दलबहादुरले फोनमा भने, “चिकित्सकको लापरवाहीले छोरीको उपचारमा समस्या भयो।”चार दिनपछि चिकित्सकले उपचार हुन नसक्ने भन्दै विराटनगर आँखा अस्पताल लैजान उनलाई सल्लाह दिएका थिए।

धरानका चिकित्सकले तीन दिनसम्म आइसोलेसनमा राखेकै कारण समीक्षाको उपचार गर्न कठिन बनेको छ।“समयमै अस्पताल नपुर्याउँदा चिकित्सकले आँखाको ज्योति गुम्ने खतरा बढ्यो भनेका छन्”, अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को प्रदेश नं १ उपाध्यक्ष किशोर राईले भने, “शल्यक्रिया गर्न ढिला भएको छ, चिकित्सकसित सल्लाह गरिरहेका छौँ ।”

घाउ नघटेकाले शल्यक्रिया गर्न ढिला भएको चिकित्सकले जानकारी गराएको उनले बताए। समीक्षाको उपचारको सबै खर्च एन्फाले बेहोर्ने राईले जानकारी दिए।बारीमा सिमल तरुल खन्ने क्रममा १५ वर्षीया समीक्षाको आँखामा चोट लागेको थियो। आँखा दुख्न थालेपछि उनलाई रामपुर ठोक्सिला स्वास्थ्य चौकी पुर्याइएको थियो। यु–१६ राष्ट्रिय महिला टोलीकी सदस्य समीक्षाले स्थानीय लिटिल स्टार स्कुलबाट ८ कक्षाको परीक्षा दिएकी छन्।

प्रकाशित मिति : २३ बैशाख २०७७ मंगलबार ००:००  ४ : ५२ बजे