९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कार्ल मार्क्सबारे सात रोचक तथ्य



एजेन्सी ।
जर्मन दार्शनिक कार्ल मार्क्स (सन् १८१८–१८८३) अर्थशास्त्री, साहित्यकार र पत्रकार थिए । उनी एक साम्यवादी थिए । उनकै विचारबाट प्रभावित भएर संसारमा ठूला ठूला साम्यवादी संघर्ष भए ।

२०औं शताब्दीमा उनको विचार व्यापक फैलिएको थियो । उनको सोच भनेको मानव समाजमा आमूल परिवर्तन ल्याउनु थियो । यसैमा उनले आफ्नो जीवन समर्पण गरे ।

यसका लागि अध्ययनको असीम गहिराइमा पसे । उनले अविराम अध्ययनबाट समाजवादी तथा साम्यवादी व्यवस्थाको बाटो पहिल्याए र त्यसका खातिर अघि बढ्ने मार्गदर्शक सिद्धान्त वा वर्ग संघर्षको सिद्धान्त प्रतिपादन गरे ।

वर्ग संघर्षको दर्शन निर्माणमा मार्क्सको पहिलो खोज भनेको पुँजीवादी व्यवस्थाअन्तर्गत मजदुरको सिद्धान्त हो । त्यसमा पनि पहिलो कुरा भनेको उत्पादन नै हो, जो पुँजीपति वर्गको हातमा छ ।

दोस्रो भनेको उत्पादन प्रक्रिया हो, त्यो पुँजीपति वर्गको स्वार्थअनुसार चलाइन्छ । र तेस्रो भनेको मजदुर आफैं हो, जो अरुका लागि काम गरिदिन्छ र ऊ आफैंमा ठगिएको छ । यहीँनेरबाट श्रम शोषण हुन गएको छ ।

दोस्रो महत्त्वपूर्ण खोज भनेको ऐतिहासिक भौतिकवादको व्याख्या हो । यो भनेको मानव समाजको समग्र इतिहासको वस्तुवादी व्याख्या हो । यसअन्तर्गत मानव समाजको सिलसिलेवार वस्तुगत चरणको व्याख्या गरेका छन् । जस्तैः आदिम साम्यवाद, दास युग, सामन्ती युग, पुँजीवादी युग, समाजवादी युग र साम्यवादी युग ।

उनले सबैभन्दा बढी जोड पुँजीवादी युग अध्ययनमा लगाएका छन् । यो भनेको मार्क्सले भनेझैं वर्तमानको व्याख्या र त्यसमा ल्याउनुपर्ने आमूल परिवर्तन वा ससमाजवादी परिवर्तनको सिद्धान्त प्रतिपादन हो ।

तेस्रो महत्त्वपूर्ण खोज भनेको समाज परिवर्तनको उपाय, विधि र प्रक्रिया हो । त्यो भनेको वर्ग संघर्षको खोज हो । यसबारे अध्ययन गरेर मार्क्स समाजको चरित्र वर्गीय हुने निचोडमा पुगे ।

उनले समकालीन समाजमा हुने विपरीत वर्गका बीचमा निरन्तर संघर्ष चलिरहने बताए । उनको व्याख्यामा आदिम साम्यवादमा कुनै पनि वर्गीय अन्तरविरोध थिएन । तर, समाज विकासको दोस्रो चरणमा आइपुगेपछि दासयुग सुरु भयो र दास र मालिकबीच वर्ग संघर्ष व्यक्त र अव्यक्त रुपमा चल्दै गयो ।

त्यसपछि पनि समाजमा आमूल परिवर्तन आउन सकेन बरु समाजको रुपान्तरण सामन्ती युगमा भयो । त्यहाँ भूमिपति र भूदासबीच वर्गसंघर्ष चल्यो । त्यसले समाजलाई त्यही अवस्थामा रहन नदिई पुँजीवादी युगमा रुपान्तरण गर्‍यो ।

पुँजीवाद स्थापना भयो । यो हामी बाँचेको वर्तमान हो । यसमा पुँजीपति र मजदुर वर्गका बीचमा वर्ग संघर्ष चलिरहेको छ । मार्क्सका अनुसार समाजवादी समाजमा पनि वर्ग रहने भएकाले त्यहाँ वर्ग संघर्ष निरन्तर चलिरहन्छ । वर्ग अन्त्य सँगसँगै राज्यको पनि विलोपीकरण गरिने भएकाले साम्यवादमा भने वर्ग संघर्ष हराएर जान्छ भनेका छन् ।

चौथो खोज भनेको कम्युनिस्ट घोषणा पत्र हो । यो नै मार्क्सका सबै खोजको संश्लेषण हो । यसमा मार्क्सले खोज, अध्ययन र अनुसन्धान गरेका र लेखेका सबै कृतिको सार छ । यो वर्ग संघर्षको संश्लेषित दस्तावेज हो ।

यो मार्क्स–एंगेल्सको अथक प्रयासको परिणति पनि हो । यो हालसम्म मानवले निर्माण गरेको सर्वोत्कृष्ट पाण्डुलिपि पनि हो । मार्क्सले निन्दा गरेका वर्ग दुस्मनहरुले पनि यसको सराहना गर्छन् ।

पाँचौं खोज भनेको दास क्यापिटल अर्थात् पुँजी नामक कृति हो । त्यसमा समकालीन समाजको यति सटिक व्याख्या गरिएको छ कि त्यो आफैंमा अकाट्य र सर्वस्वीकार्य छ ।

यसमा मार्क्सले पुँजी निर्माणदेखि शोषणका सबै रुप र समाजवाद तथा साम्यवादका आर्थिक आधार तथा धरातलको सपाट व्याख्या गरेका छन् । यसबाट श्रम के हो र पुँजीसँग यसको सम्बन्ध के र कस्तो रहन्छ भन्ने ज्ञान दिएर ठूलो भ्रम चिरिदिएका छन् । छैटौं उपलब्धि भनेको मार्क्स आफैं पहिलो अन्तर्राष्ट्रियको नेतृत्वकर्ता थिए । उनले पहिलो इन्टरनेसनललाई साम्यवाद प्रचारको साधन बनाएका थिए ।

उनको विचारमा दोस्रो इन्टरनेसनल संगठन निर्माणको र तेस्रो इन्टरनेसनल संघर्षको नेतृत्वकर्ताको भूमिकामा हुनुपर्थ्यो । उनी त्यतिबेला अराजकतावादी मिखाइल बाकुनिनविरुद्ध वैचारिक लडाइँमा थिए ।

सातौं खोज भनेको मार्क्स आफैंमा आधुनिक समाजशास्त्रका जन्मदाता हुन् । समाज विज्ञान आफैंमा एक जटिल कुरा हो । यो अन्य विज्ञान जस्तो विशुद्ध र आंशिक पनि हुँदैन । यसको व्याख्या समग्रमा हुनुपर्छ । बरु यो समाज विज्ञानले अन्य सबै विज्ञानको अगुवाइ, अभिभावकत्व र नेतृत्व गर्दछ । -शिलापत्रबाट

प्रकाशित मिति : २३ बैशाख २०७७ मंगलबार ००:००  ३ : ३० बजे