९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेपालगन्जमा भोलिदेखि वैशाख २५ गतेसम्म कर्फयू



बुटवल ।

कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा भोलिदेखि कर्फयू लगाउने निर्णय भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार विहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको हो ।

संघीय सरकारले जारी राखेको लकडाउनसंगै नेपालगन्ज उपमहानगरपालिकामा वैशाख २३ गते बिहान ११ बजेदेखि २५ गते मध्यरातिसम्म पूर्ण निषेधित क्षेत्र लागु गरिने प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए।

कर्फ्यूको समयमा नेपालगन्जमा औषधी पसलवाहेक सबैखाले पसल, व्यवसाय खोल्न नपाइने प्रजिअ खड्काले बताए । बाँकेमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोली सोमबार नेपालगञ्ज पुगेर कम्तीमा तीन दिन कर्फ्यू लगाउन जिल्ला प्रशासनलाई सुझाव दिएको थियो ।

नेपालगञ्जको अन्सारी मस्जिदका ६० वर्षीय मौलानामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको थियो । त्यसको दुई दिनपछि उनीसंग सम्पर्कमा रहेका १५ जनामा पनि कोरोना संक्रमणको पुष्टी भएको हो ।

प्रकाशित मिति : २२ बैशाख २०७७ सोमबार ००:००  ७ : १९ बजे