९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रुपन्देहीका कोरोना संक्रमितसंगै आएका सबैको स्वाब संकलन, १४ जनाको रिर्पोट आउँन बाँकी



बुटवल ।
रुपन्देहीमा भेटिएका कोरोना भाइरस (कोभिड-१९) संक्रमित युवाको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरिएको छ । भारतको दिल्लीबाट आएका युवासँग घरपरिवार, इष्टमित्र गरी २४ जना सम्पर्कमा आएका थिए ।

उनीहरुलाई शुक्रबार रातिदेखि कोटहीमाई गाउँपालिकास्थित मझगावामा रहेको मझगावा आदर्श माविको क्वारेन्टाइनमा राखिएको थियो ।

स्वास्थ्यकर्मीले कोरोना भएरनभएको पत्ता लगाउन क्वारेन्टाइमै सबैको स्वाब संकलन गरेको जिल्ला स्वास्थय कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र कुमार गिरीले बताए । जसमध्ये आइतबार १० जनाको स्वाब संकलन गरिएको थियो । बाँकी १४ जनाको सोमबार स्वाब संकलन भएको छ ।

आइतबार स्वाब संकलन गरिएका १० जनाकै रिपोर्टमा कोरोना नभएको पुष्टि भएको छ । सोमबार स्वाब लिएका व्यक्तिको स्वाब काठमाडौं पठाइने छ । भैरहवामा रहेको प्रयोगशालामा किट अभाव भएपछि काठमाडौं पठाउन लागिएको हो । उनीहरुको मंगलबार बिहानसम्म नतिजा आउने स्वास्थ्य कार्यालय प्रमुख गिरीले बताए ।

भारतबाट वैशाख ४ गते लुकेर आएका ती युवा ५ गतेमात्रै क्वारेन्टाइनमा पुगेका थिए । क्वारेन्टाइन गएको १२ दिनपछि मात्रै उनको जाँच भएको थियो । त्यसको दुई दिनपछि अर्थात् शुक्रबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७७ सोमबार ००:००  ७ : १२ बजे