काठमाण्डौ ।
सरकारले कोरोना भाइरस कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारीमा रहेको बताएको छ । श्रम रोजगार पत्रकार समूहले सोमबार गरेको छलफल कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ का कारण रोजगारी गुमाएर तथा भिसा सकिएर लगायत विभिन्न कारणले समस्यामा परेर अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारले तयारी थालेको जानकारी दिनुभएको हो ।
नेपालीलाई फर्काउने विषयमा अध्ययन गर्न परराष्ट्र मन्त्रालयको नेतृत्वमा सरोकारवाला सहभागी रहेको टोली गठन गरिएको उहाँको भनाइ छ । विदेशमा समस्यामा परेका नेपालीको तथ्याङ्क सङ्कलन शुरु भइसकेको, तत्कालै ल्याउनुपर्नेको हकमा प्राथमिकताको आधार छुट्याइएको र आवश्यक प्रबन्ध मिलाएर स्वदेश फिर्ता गरिने मन्त्री ज्ञवालीले बताउनुभयो ।
महामारीको बेला आपत्मा परेका नागरिकलाई उद्धार गरेर स्वदेश ल्याउनु निकै चुनैतीपूर्ण रहेको भन्दै उहाँले भावनामा बगेर सरकारले केही गरेन भनेर दोषारोपण नगर्न पनि आग्रह गर्नुभयो ।
मन्त्री ज्ञवालीले ‘उडान खुलेसँगै विदेशमा रहेकालाई सुरक्षित र व्यवस्थित हुने गरी प्राथमिकताका आधारमा नेपाल ल्याक्ष्ने बताउनु भयो । विदेशी भूमिमा रोजीरोटी गुमाएका नेपालीलाई खान बस्न तथा कोरोना सङ्क्रमण भएकालाई उपचार गर्न सरकारले सम्बन्धित मुलुकसँग कूटनीतिक पहल गरिएको बताउँदै उहाँले गन्तव्य मुलुकमा रहेका दूतावासलाई चनाखो रहन निर्देशन दिइएको जानकारी दिनुभयो ।
प्रतिक्रिया