९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

घोराहीमा कारागार भित्रै बनाइयो क्वारेनटाइन



दाङ ।
कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन दाङको घोराहीमा रहेको कारागारमा क्वारेनटाइनको निर्माण गरिएको छ ।

कोरोनाको जोखिम रहेका बेला कारागारमा थपिने कैदीबन्दीहरुलाई क्वरेन्टीनमा राखेर मात्रै कारागारभित्र लगिने भएको हो । घोराही कारागारमा ५ जना अट्ने क्षमता रहेको क्वरेन्टीन निर्माण गरिएको कारागारका जेलर विष्णु पाण्डेले जानकारी दिनु भएको छ ।

‘कोरोनाको जोखिम रहेको समयमा कारागारमा थपिने कैदीबन्दीहरुलाई सुरुमा क्वारेनटाइनमा राख्ने गरेका छौँ । क्वारेनटाइनमा बस्दा कैदीबन्दीमा कुनै समस्या देखिएन भने अन्य कैदीबन्दीसँग राख्ने गरेका छौँ’, जेलर पाण्डेयले भन्नुभयो ।

पाण्डेका अनुसारका लकडाउन सुरु भएपछि घोराही कारागारमा तीन जना कैदीबन्दीहरु थपिएका छन । उनीहरुलाई कारागारकै क्वारेनटाइनमा १४ दिन राखी स्वास्थ्य परीक्षणपछि मात्र कारागार चलान गरिएको उहाँले बताउनु भयो । कोरोना भाइरसको जोखिमका कारण कारागारमा बस्दै आएका कैदीबन्दीसँग उनका आफन्तहरुलाई दिँइदै आएको भेटघाट समेत बन्द गरिएको छ ।

‘अहिलेको जोखिम अवस्थालाई मध्यनजर गर्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट गर्न समेत बन्द गरिएको छ’उहाँले भन्नुभयो, ‘जसले गर्दा चैत ११ पछि कुनै पनि कैदीबन्दीहरुले बाहिरका मानिसहरुसँग भेटघाट गर्न पाएका छैनन् ।’

कारागारले लकडाउन लागू भएदेखि नै कैदीबन्दीसँग बाह्य मान्छेहरुको भेटघाट बन्द गरेको कारागारका जेलर पाण्डेले जानकारी दिनुभयो । घोराही कारागारले लकडाउन लागू हनुभन्दा पहिले हप्ताको आइतबार, मंगलबार र बिहीबार बिहान ११ बजेदेखि ४ बजेसम्म कैदीबन्दीकालागि भेटघाट गर्ने समय दिँइदै आएको थियो।

अहिले घोराही कारागारमा रहेका दुई सय ८५ जना कैदीबन्दीहरुमध्ये पाँच जना कैदीबन्दीहरु विदेशी रहेका छन् ।

यस्तै जेलर युवराज परियारका अनुसार ४ सय ६५ जना कैदीबन्दी रहेको तुलसीपुर कारागारमा ३२ जना महिला, ११ जना विदेशी र ४ जना बालबालिकाहरु रहेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७७ सोमबार ००:००  ४ : ४६ बजे