९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

दिएर नथाक्ने कपिलवस्तुका तरुण दल र नेविसंघ, सुरु गरे दोश्रो चरणको राहत वितरण



मायादेवी अनलाइन, चारनम्बर ।
अन्य दलका भातृसंगठन कोरोना महामारीमा सुस्ताएको आरोप लागिरहेका बेला नेपाली कांग्रेस निकट दुई भातृ संगठनले कपिलवस्तुमा उदाहरणीय काम गरेका छन् । विश्वभर कोरोना महामारीबाट बच्न भएको लकडाउनमा अति मारमा परेकाहरु विचल्लीमा परेको आवाज सुनेदेखि तरुण दल र नेपाल विद्यार्थी संघ कपिलवस्तु महिनाभर विपन्नहरुको घरघरमा आवश्यक सामग्री लिएर पुगेका छन् ।

लगभग कपिलवस्तु जिल्लालाई प्रतिनिधित्व हुने गरी महिनाभर गाडीभरी राहत बाँड्दै हिँडेका यी दुई संगठनले फेरि दोश्रो चरणको राहत वितरण सुरु गरेका छन् । तरुण दलका जिल्ला अध्यक्ष शक्तिसिंह ठकुरी र विद्यार्थी संघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलको नेतृत्वको टोलीले पहिलो चरणमा करिब ७ सय अति विपन्न परिवारलाई राहत बाँडिएकोमा बाणगंगा ६ सुठौलीबाट दोश्रो चरणको राहत वितरण अभियान सुरु भएको अध्यक्ष शक्तिसिंह ठकुरीले जानकारी दिनुभयो ।

ठकुरीका अनुसार कहिँकतैबाट राहत नपाएका त्यहाँका २३ परिवारलाई आइतबार राहत बाँडिएको छ । सामाजिक दुरी कायम गरी आइतबार प्रतिपरिवार एक एक बोरा चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न वितरण गरिएको ठकुरीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । दोश्रो चरणको राहत अति विपन्न परिवार, जसले विहान साँझ हातमुख जोर्न धौधौँ मानेका छन्, तिनलाई मात्र वितरण गरिने छ । यसको लागि सम्बन्धित स्थानीय तहलाई लगत संकलन गर्न भनिएको छ भने संगठनका नेता कार्यकर्ता चर्को घाममा घरहरु खोज्दै हिँड्ने गरेका नेविसंघ नेता पोख्रेलले जानकारी दिनुभयो ।

राहत पाएपछि उनीहरुले राज्यले राहत वितरणमा विभेद गरेको बताउँदै खुसी ब्यक्त गरेका छन् । लकडाउन घोषणा भईसकेपछि श्रमिक, मजदुर, गरिव तथा अति विपन्न परिवारलाई धेरै नै समस्या हुने गरेको छ । त्यही समस्यालाई बुझेर तरुण र विद्यार्थीहरुले खाजा र अन्य फजुल खर्च कटाएर राहत वितरण गरेको बताइएको छ । साथै यो राहत वितरणमा मातृ पार्टी कांग्रेस, प्रतिनिधि सांसद अत्तहर कमाल, कांग्रेस जिल्ला सभापति सुरेन्द्र आचार्य, पार्टीका अन्य भातृसंगठन र बिभिन्न संघ संस्थाले सहयोग गरेका बताइएको छ ।

यत्ति मात्र होइन यी संगठनले आगो लागि पीडितहरुलाई पनि राहत बाँडिसकेका छन् भने गर्मीसंगै औँलो, कालाजार र डेँगी रोगको संक्रमण फैलन सक्ने भन्दै झुल वितरण पनि गरिहेका छन् । युवा नेता ठकुरी र पोख्रेलले यो विपत्तिमा कसैले राजनीति गर्न नहुने भन्दै सबै मिलेर जुधेमा मात्र कोरोनाको लडाइमा जित हासिल गर्न सकिने बताउनु भयो । पोख्रेलले जनताको सेवा गर्न आफूहरु कहिल्यै नथाक्ने बताउनु भयो ।

उहाँहरुले नगरपालिका र प्रदेश सरकारले कोरोना विपत्तिमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनु भयो ।

दोश्रो चरणको राहत वितरणमा जिल्ला सदस्य रबि काफ्ले, क्षेत्रीय सचिव प्रेमनारायण पौडेल तरुण दलका कल्याण टण्डन, राजन आले, कृष्ण पराजुली, गोबिन्द आचार्य, नेविसंघका राममणी पौडेल लगायतको सहभागिता रहेको थियो ।

Image may contain: one or more people, outdoor, food and nature

प्रकाशित मिति : २२ बैशाख २०७७ सोमबार ००:००  ८ : ४८ बजे