काठमाडौं ।
भारत प्रशासित कास्मिरमा सुरक्षाकर्मी र लडाकुबीच झडप हुँदा ९ जनाको मृत्यु भएको छ ।भारतीय अधिकारीले आइतबार दिएको जानकारीअनुसार झडपमा ५ भारतीय सुरक्षाकर्मी र ४ लडाकुको मृत्यु भएको हो ।
तनावग्रस्त भारतीय हिमालय क्षेत्रमा कास्मिरलाई दिएको अर्ध–स्वायत्त व्यवस्थालाई केन्द्र सरकारले गत वर्षको अगस्टमा खारेज गरेपछि आणविक शक्ति सम्पन्न पाकिस्तानले विरोध गरिरहेको छ ।
अर्ध–स्वायत्त व्यवस्था हटाउने सरकारको निर्णयको कास्मिरी नागरिकको एउटा समूहले विरोध गरिरहेको छ । कास्मिरका सक्रिय कतिपय समूहलाई भारतले आतंकवादीको संज्ञा दिएको छ ।
भारत र पाकिस्तान दुई अलग मुलुक बनेसँगै विभाजित त्यहाँको समाजका कारण उक्त क्षेत्रमा हजारौं व्यक्तिको मृत्यु भइसकेको छ ।
‘पाकिस्तानसँगको सीमाक्षेत्र नजिक रहेको चङ्गीमूलमा भएको भिडन्तमा दुई अधिकृतसहित चार सैनिक, एक विद्रोहीविरूद्ध तैनाथ विशेष प्रहरी दस्ताका जवान र दुई विद्रोहीको मृत्यु भएको छ,’ भारतीय सेनाका प्रवक्ता कर्नेल राजेस कालियाले भने ।
सुरक्षाकर्मीले कास्मिरको बस्तीमा रहेको एक घरमा खानतलासी गर्ने क्रममा विद्रोही लडाकुले व्यापक रूपमा गोली चलाएपछि भएको झडपमा उनीहरूको मृत्यु भएको सैनिक प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सेनाको विज्ञप्तिमा एक जना प्रहरी अधिकारीसहित ती मानिस उक्त घरमा किन बसेका थिए भन्ने खुलाइएको छैन । तर एक प्रहरीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एएफपीसँग भनेका छन्, ‘खानतलासी क्रममा त्यहाँ पुगेको सुरक्षाकर्मी धरापमा परेको थियो ।’ रासस/एएफपी
प्रतिक्रिया