९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बार्सिलोना तयार भयो आफ्ना नौ स्टार खेलाडी बेच्न



एजेन्सी ।
स्पेनिस ला लिगा क्लब बार्सिलोना आफ्ना नौ जना स्टार खेलाडी बेच्न तयार रहेको बताइएको छ । विश्वकप विजेता एन्टोनी ग्रिजमनलगायत अन्य खेलाडीलाई स्थायी र लोनमा बेच्न तयार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम मिरोरले जनाएको छ ।

प्रिमियर लिग क्लबहरूको प्रस्तावलाई स्वीकार्दै बार्सिलोनाले आफ्ना स्टार खेलाडी बेच्न तयार रहेको छ । सुपरस्टार लियोनल मेस्सीको अफवाहबाहेक अन्य खेलाडीहरूका लागि प्रस्ताव गर्न खुला गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण आर्थिक संकटमा परेका बेला बार्सिलोना रकम जुटाउनका लागि यस्तो कदम चाल्ल तयार रहेको हो । ग्रिज्मान अनुबन्धका लागि म्यानचेस्टर युनाइटेड इच्छुक रहेको बताइएको छ । २९ वर्षीय ग्रिजमन यसै सिजनको सुरुवातमा एथ्लेटिको मड्रिडबाट बार्सिलोना पुगेका थिए ।

त्यस्तै पूर्व लिभरपुल स्ट्राइकर लुइस सुआरेज र ओस्मान डेम्बेले तथा मिडफिल्ड इभान राकिटिक र आर्टुरो भिडाललाई पनि प्रस्तावका लागि खुला गरेको जनाएको छ । विश्वकपका विजेता डिफेन्डर सामुएल उम्टिटी, नेल्सन सेमेडो र सर्जिओ रोबर्टो पनि त्यस सूचीमा रहेका छन् ।

क्याम्प नाउमा आफ्नो भविष्य अनिश्चित भएका पिलिप्पे काउटिन्हो पनि यसै समूहमा छन् । ब्राजिलियन मिडपिल्डर काउटिन्हो यतिबेला लोनमा जर्मन क्लब बार्यन म्युनिखमा छन् ।

२७ वर्षे काउटिन्हो सन् २०१८ मा १४२ मिलियन पाउन्ड कीर्तिमानी मूल्यमा लिभरपुलबाट बार्सिलोना पुगेका थिए । लोनमा बार्यन पुगेका प्लेमेकरलाई बुन्डेसलिगा क्लबले पनि स्थायी रूपमा अनुबन्ध गर्न अस्वीकार गरेको छ । उनको प्रिमियर लिगमा फर्किन मन भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७ आइतबार ००:००  ८ : १३ बजे