मायादेवी अनलाइन, चारनम्बर ।
रोटरी र रोट्र्याक्ट क्लव अफ कपिलवस्तु मिडटाउनले आइतबार बाणगंगा नगरपालिकाका बिभिन्न स्वास्थ्य चौकीमा संयुक्त रुपमा स्वास्थ्य सामग्री वितरण गरेका छन् । विश्वमा कोरोना महामारीका कारण स्वास्थ्यकर्मीहरु सबैभन्दा बढी जोखिममा रहेका कारण उच्च गुणस्तरको ५ थान पिपिई वितरण गरिएको हो ।
रोटरी क्लवका अध्यक्ष वीरेन्द्र खाँणको नेतृत्वमा आइतबार नगरपालिकाको वडा नम्बर ४ मा रहेको गजेहडा स्वास्थ्य चौकी, वडा नम्बर ९ मा रहेको भलवाड स्वास्थ्य चौकी र वडा नम्बर १० मा रहेको पटना स्वास्थ्य चौकीमा पिपिई वितरण गरिएको हो ।
नगरका बिभिन्न स्वास्थ्य चौकीमा वितरण भएका पिपिई गुणस्तरीय नहुँदा स्वास्थ्यकर्मीहरुले पिपिई प्रयोग नगरेको गुनासो आए पछि रोटरी इन्टरनेश्नलले उपलब्ध गराएका उच्च गुणस्तरीय ५ थान पिपिई ती स्वास्थ्य चौकीमा वितरण गरिएको अध्यक्ष वीरेन्द्र खाँणले जानकारी दिनुभयो । उहाँले थप पिपिई र मास्क, सेनेटाइजर पनि आउने क्रममा रहेकाले केही दिनपछि पुनः अन्य स्वास्थ्य संस्थालाई पनि वितरण गरिने जानकारी बताउनु भएको छ ।
पिपिई ग्रहण गर्दै गजेहडा स्वास्थ्य चौकीका प्रमुख द्रोर्ण वेलबासे, भलवाड स्वास्थ्य चौकीका प्रमुख जितविकास रायमाझी र पटना स्वास्थ्य चौकीका प्रमुख पर्शुराम चौधरीले खुसी ब्यक्त गर्नु भयो । परिमाण थोरै भए पनि रोटरीले दिएको पिपिई गुणस्तरीय भएकाले स्वास्थ्य सेवामा ढुक्कसंग लाग्न थप हौसला बढेको उहाँहरुले बताउनु भयो । उहाँले अझै पनि स्वास्थ्य संस्थाका कर्मचारीमा आवश्यक जति पिपिई लगायतका स्वास्थ्य सामग्री अभाव भएको बताउनु भयो ।
संस्थाका उपाध्यक्ष माधव भाट क्षेत्री, सचिव मोहन बेलबासे, बर्ष २०२०/२१ का निर्वाचित अध्यक्ष नरेश पौडेल, रोट्र्याक्ट क्लवका अध्यक्ष गणेश कार्की, मिडिया संयोजक रोट्र्याक्टर्स चन्द्रकान्त न्यौपाने, रोटरियनद्धय शुष्मा खाँण, इन्दिरा तिमिल्सिना र रोट्र्याक्टहरुले संयुक्त रुपमा पिपिई हस्तान्तरण गर्नुभएको थियो ।
स्थापना कालदेखि सामाजिक र मानवीय कार्य गर्दै आइरहेका यी २ संस्थाले यसअघि बाणगंगाको दैवी प्रकोप कोषमा ६० हजार बढीको स्वास्थ्य तथा खाद्यान्न सामग्री हस्तान्तरण गरिसकेका छन् । यस्तै रोटरी नेपालले नेपाल सरकारको कोरोना कोषमा १ करोड बढी रकम जम्मा गरिसकेको छ ।
प्रतिक्रिया