एजेन्सी ।
पाकिस्तानका पूर्वविकेटकीपर ब्याट्सम्यान जुल्कारनैन हैदरले खेलका दौरान आफूलाई धम्की आएको खुलासा गरेका छन् । उनले आफूलाई खराब प्रदर्शन गर्न उमर अकमललगायत खेलाडीले धम्की दिएको बताएका हुन् ।
एक दिवसीय सिरिजको तेस्रो खेलमा खराब प्रदर्शन गर्न हैदरलाई प्रस्ताव आएको उनले बताए । तर, उक्त प्रस्ताव अस्वीकार गरेपछि धम्की आएको उनले बताएका हुन् । धम्कीकै कारण हैदरले गोप्य रूपमा आफू यूएईबाट इंग्ल्यान्ड पुग्नु परेकोसमेत खुलासा गरेका छन् ।
“मलाई अझै पनि याद छ । मैले तिमीहरू आफ्नो काम गर भन्दै प्रस्ताव अस्वीकार गरेको थिए । त्यसपछि अकमललगायत साथीहरूले मलाई धम्की दिएका थिए,” हैदरले भने, “धम्कीका कारण म धेरै दबाबमा आएको थिएँ । निकै डराएको पनि थिएँ । यसै कारण कसैलाई नसोधी म इंग्ल्यान्ड गएँ ।”
उनले अकमललाई लिएर यस घटनताको जानकारी टोली व्यवस्थापनलाई दिएको बताए । तर, यस घटनापछि अकमल नभई नोभेम्बर २०१० मा हैदरको क्रिकेट करियरको समाप्त भएको थियो । उनले एक टेस्ट, चार एकदिवसीय र तीन टी–ट्वान्टी मात्र खेलेका थिए ।
उनले फिक्सिङ आरोपमा अकमलविरुद्ध लगाएको तीन वर्षको प्रतिबन्ध थोरै भएको बताए । उनले अकमललाई आजीवन प्रतिबन्धका साथै पुरै सम्पत्ति पनि जफत हुनुपर्ने बताएका छन् ।
प्रतिक्रिया